Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनी-जोमसोम-कोरला सडकको तीन खण्ड अलपत्र

बेनी-जोमसोम-कोरला सडकको तीन खण्ड अलपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७९ बिहिवार • १५:२३:३० बजे
  • 553
    SHARES
  • बेनी-जोमसोम-कोरला सडकको तीन खण्ड अलपत्र

    म्याग्दी । म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमानामा रहेको कोरला नाका जोड्ने सडक अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।

    images

    आयोजना प्रमुख जगत प्रजापतिले खन्ति–जोमसोम, जोमसोम–कागबेनी र चराङ–छोसेर खण्डमा सडक निर्माणको जिम्मा लिएका कम्पनीसँगको ठेक्का तोड्न यही कात्तिक २२ गते पहिलो पटक सार्वजनिक सूचना जारी गरिएको बताए । ‘पटक–पटक ताकेता गरेपनि निर्माणको काम अघि नबढाएकाले ठेक्का तोड्न प्रक्रिया थालेका हौँ, दोस्रो पटक पनि सूचना जारी गर्छौ,’ उनले भने, ‘कार्ययोजनासहित सम्पर्कमा नआए ठोक्का तोडेर, कालोसूचीमा राख्ने र नयाँ प्रक्र्रियाबाट निर्माण अघि बढाउँछौँ ।’

    चराङ–छोसेर र कोवाङ–जोमसोम सडक निर्माण गर्न कोसी एण्ड न्यौपाने जेभीले ठेक्का पाएको थियो । विसं २०७३ असोजमा करसहित रु २६ करोड मा ठेक्का सम्झौता भएको २५ किलोमिटर दूरीको चराङ–छोसेर सडक ११ मिटर फराकिलो पारेर पर्खाल, नाली र ग्राभेल गर्ने काम विसं २०७५ पुसमा सकिनुपर्ने थियो ।

    यो खण्डमा विसं २०७६ देखि ठेकेदारले काम गरेका छैनन् । रु १७ करोड भुक्तानी लगेको र रु नौ करोड बराबरको काम गर्न बाँकी यो सडकको भौतिक प्रगति ६५ प्रतिशत छ । अठार किलोमिटर दूरीको खन्ति–जोमसोमखण्ड कालोपत्र गर्न विसं २०७४ जेठमा रु ६२ करोड दुई लाखमा सम्झौता भएको थियो ।

    विसं २०७६ जेठमा सकिनुपर्नेमा ६० प्रतिशत भौतिक प्रगति भएको यो खण्डमा पनि पछिल्लो तीन वर्षयता अपेक्षाकृत गतिमा काम भएको छैन ।

    जोमसोम कागबेनी १३ किमी कालोपत्र सडकलगायत संरचना निर्माण गर्न आयोजनाले रौटाहा÷आत्रेय÷सारस जेभी काठमाडौँसँग २०७८ असोज ४ गते रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८० असोज ४ सम्मको म्याद भएको यो सडकमा सम्झौताको एक वर्षसम्म पनि ठेकेदारले काम थालेका छैनन् ।

    जोमसोम कोरला ११० किमी सडकको सात खण्डमध्ये छ वटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । बेनी–जोमसोमको चार वटा खण्डमध्ये घाँसादेखि खन्तिसम्मको १२ किलोमिटर सडक कालोपत्र सकिएको छ ।

  • सम्बन्धित विषय:

  • # बेनी-जोमसोम-कोरला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology