Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु:रेखा शर्मा

भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु:रेखा शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • १०:०२:०२ बजे
  • 820
    SHARES
  • भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु:रेखा शर्मा

    प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी रेखा शर्मा घोराही–१८ मसिना निवासी हुन् । वि.सं. २०२६ सालमा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरिन् । स्नातक तहसम्म अध्ययन गरेकी उनले अखिल क्रान्तिकारी दाङको जिल्ला उपाध्यक्ष, अनेम संघ क्रान्तिकारी दाङको अध्यक्ष हुँदै २०५३ सालदेखि २०५८ सालसम्म अनेम संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष रहेर महिला आन्दोलनको नेतृत्व गरिन्। उनले अध्यक्षको आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरिन् । जसले गर्दा जनताहरु उनीप्रति निकै सकारात्मक बने । 

    images


    दश वर्षे जनयुद्धका बेला तत्कालीन सरकार पक्षबाट चरम यातना भोगेकी रेखा ताप र रापको भट्टीबाट खारिएर निस्किएकी संघर्षशील योद्धा हुन् । २०७० सालको संविधान सभामा समानुपातिक कोटाबाट सांसद बनेकी उनी संसद्मा प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हालेकी थिइन् । २०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर पनि काम गरिन् । संविधान निर्माणका क्रममा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले २०७४ सालमा पुनः समानुपातिक संसद् बन्न सफल भइन् । 


    यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धामा उत्रिएकी उनीसँग दुई पटक संसद् र एक पटक मन्त्री भइसकेको अनुभव छ। आफू मन्त्री भएका बेला दाङ जिल्लाको विकास निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेकी रेखाले यसपटकको निर्वाचन जित्ने विश्वास व्यक्त गरिन् । आफूले जनताको मन जित्ने काम गरेकाले जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्छिन् । उनै शर्मासँग प्रेस सेन्टरका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः 


    घरदैलो अभियानमा कत्तिको लाग्नुभएको छ ? 


    निर्वाचनको समय नजिकिदै छ । त्यसैले मतदाताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छौं । विहानदेखि राति अबेरसम्म पनि हामी जनताको घरदैलोमा व्यस्त छौं । स–साना सभा, भेटघाट र अन्तरक्रियाहरु पनि गरिरहेका छौं । 


    आम मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 


    आम मतदाताहरु गठबन्धनप्रति सकारात्मक हुनुहुन्छ । उहाँहरु हामीलाई जिताउन आतुर हुनुहुन्छ । जितेपछि पनि जनताको घरदैलोमा पुनः फर्केर आउन उहाँहरुको आग्रह छ । जितेर नहराउनू, फर्केर गाउँमा आई विकास निर्माणका काम गर्नू भन्ने उहाँहरुको सुझाव छ । हामी उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढेका छौं । विगत उम्मेदवारहरुले गरेका केही गल्तीहरुलाई हामीले नदोहो¥याउने प्रण गर्दछौं । 


    मतदाताले रेखा शर्मालाई नै भोट किन दिने ? 


    पहिलो कुरा त गठबन्धन स्वतः बलियो छ । यहाँ नेकपा एमाले प्रतिपक्षी छ भने त्यसको तुलनामा गठबन्धनको बलियो पकड रहेको छ । त्यस्तै मलाई नै भोट दिनुपर्ने अर्काे कारण भनेको मैले विगतमा यहाँका जनताका लागि गरेका राम्रा कामहरु पनि हुन् । त्यस्तै गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण, कानुन निर्माणका क्रममा मैले निर्वाह गरेका भूमिकाले पनि जनतामा सकारात्मक प्रभाव छ । त्यसैगरी जनताले मसँग सहज महशुस गर्नुभएको छ । उहाँहरुलाई मसँग कुरा गर्न, समस्याहरु राख्न सहज अनुभूत गरिरहनु भएको छ । 


    घरदैलो अभियानमा के कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ? 


    हाम्रो मुख्य एजेण्डा भनेकै संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास समृद्धि रहेका छन् । जुन उद्देश्यले गठबन्धन बनेको थियो, गठबन्धनको एजेण्डा नै हाम्रो एजेण्डा हो । जनताको घर दैलोमा हामीले गठबन्धनकै उद्देश्यलाई पस्किएका छौं । त्यस्तै यहाँ भइरहेका विकास निर्माणका संरचनाहरुलाई व्यवस्थित गर्ने, केही नयाँ आयोजनाहरु थप गर्ने, जनताको दैनिक जीवनमा आईपर्ने समस्याहरु सम्बोधन गर्नेबारे योजनाहरु अघि सारेका छौं । मैले चर्को भाषण, चुनावी आश्वासन बाँड्ने गरेको छैन । जनताले अनुभूत हुने गरी काम गर्छु, चुनावअघि ठूल्ठूला आश्वासन बाँड्ने र चुनावपछि फर्केर नआउने गर्दिनँ ।


    आम मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ? 


    नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्रको रक्षाका निम्ति र राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिको मोमेन्ट अगाडि बढाउनका लागि गठबन्धनलाई मत दिनुहुन जनतासमक्ष अपिल गर्दछु । त्यसतै हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाई देशमा अस्थिरता ल्याउने खोज्नेहरुलाई परास्त गर्नका निम्ति पनि गठबन्धनको जीत आवश्यक रहेकाले यसको जनताको साथ महत्वपूर्ण छ । त्यसैले जनताले हिजोको संघर्षका बेलामा साथ दिनुभएको थियो । भोलिको उज्यालो भविष्यका लागि पनि हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology