Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झापा-५ : चुनावी माहोल रोचक बन्दै, ओली कति सुरक्षित ?

झापा-५ : चुनावी माहोल रोचक बन्दै, ओली कति सुरक्षित ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • १०:३३:३८ बजे
  • 478
    SHARES
  • झापा-५ : चुनावी माहोल रोचक बन्दै, ओली कति सुरक्षित ?

    आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो ।

    images

    त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ । ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गरेका थिए ।

    अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै छ । झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन् ।

    उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ । विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका छन् । विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए । ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।

    झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ ।

    तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेक बताउँछन् । वडागत रुपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन् ।

    गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो । कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

    गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो । दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो । यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो ।

    स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादीे केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ । सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् । दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ ।

    यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र एक सय ७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो क्षेत्र एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ ।

    त्यसैले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ को चुनावी माहोल रोचक बन्दै गएको छ ।

  • सम्बन्धित विषय:

  • # ओली कति सुरक्षित ?
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology