Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवन–३ बाट उम्मेदवारी दिएका डा. भोजराज अधिकारी को हुन् ?

चितवन–३ बाट उम्मेदवारी दिएका डा. भोजराज अधिकारी को हुन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७९ बुधवार • १५:०७:०७ बजे
  • 442
    SHARES
  • चितवन–३ बाट उम्मेदवारी दिएका डा. भोजराज अधिकारी को हुन् ?

    वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवारी दिएका डा. भोजराज अधिकारी चितवनबासीको मन मनमा बसेका चिकित्सक हुन्। उनी गठबन्धनबाट चितवन- ३ मा माओवादी केन्द्रका उम्मेदवार भएपछि चितवनबासीले उनीप्रति निकै आत्मियता देखाएको माओवादी केन्द्रका जिल्ला नेताहरू बताउँछन्।

    images

    कतिसम्म भने चुनावी अभियान अन्तर्गत भोट माग्दै हिँडेका डा. अधिकारीलाई चितवनका स्थानीयले पहिला आफ्नो रिपोर्ट देखाएर स्वास्थ्य सल्लाह माग्छन्। 'पहिले यो मेरो रिपोर्ट चैँ हेरिदिनुस्‌ न डाक्टरसाब, तपाईं उठेपछि भोट त दिइहाल्छम् नि,' चुनावी अभियानमा चितवनका मतदाताले डा. अधिकारीलाई गरेको आग्रह सम्झँदै माओवादीका जिल्ला नेता भन्छन्, 'उहाँ चिकित्सकका रूपमा जनतामा पूरै भिज्नुभएको छ । जनतासँग धेरै भावनात्मक र आत्मीय सम्बन्ध छ ।'

    को हुन् अधिकारी ?

    डा. भोजराज अधिकारीको जन्म वि.सं. २०३६ सालमा चितवनको तत्कालीन कुरिनटार गाविसको कमेरेको एक विपन्न परिवारमा भएको हो । बाबु एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीको छैटौँ सन्तानका रूपमा उनको जन्म भएको हो ।

    उनी १ वर्षका हुँदा उनको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका- २२ मा बसाई सर्‍यो ।

    पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट उनको प्राथमिक शिक्षा सुरु भयो । पटिहानीकै अमर माविबाट २०५२ मा अधिकारीले विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरे । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थी थिए उनी । सधैँ विद्यालय टप गर्थे । कक्षा ५ र ८ को परीक्षामा उनले चितवन जिल्ला टप गरे ।

    अधिकारीले एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट २०५४ सालमा प्रथम श्रेणीमा आईएससी गरे । अनि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पतालबाट एमबीबीएस गरे ।

    त्यसपछि अधिकारीले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट सुरू गरे । सोही मेडिकल कलेजबाट काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन (फिजिसियन) मा एमडी गरे ।

    एमडी अध्ययन गर्दागर्दै उनले लोकसेवामार्फत सरकारी चिकित्सकको रूपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बने । त्यो उनको पहिलो सरकारी सेवा थियो ।

    त्यसपछि अधिकारीले पुरानो मेडिकल कलेजबाट विशिष्टिकृत सेवा सुरु गरे । एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उनकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलोपटक मिर्गौलाको डायलायसिस सेवा सुरु भएको थियो ।

    अधिकारी १७ वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत छन् । पछि उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भए । माओवादीले प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएपछि अस्पताल अध्यक्षको पदबाट राजीनामा दिएर अधिकारी चुनावी मैदानमा होमिएका छन् ।

    १७ वर्षसम्म स्वास्थ्य सेवामा सक्रिय रहँदा अधिकारीले धेरै चितवनबासीको उपचार गराएका छन् । धेरैलाई स्वास्थ्य सल्लाह दिएका छन् । अनि धेरैलाई निको बनाएर घर फर्काएका छन् ।

    उनी राजनीतिक रूपमा २०५२ मै संगठित भएका थिए । त्यतिबेला उनले नेकपा (मशाल)को सदस्यता लिएका थिए । हाल अधिकारी माओवादी केन्द्रनिकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रीय सचिव छन् ।

  • सम्बन्धित विषय:

  • # डा. भोजराज अधिकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology