Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरल सहयात्री पौडेल :नामजस्तै सरल

सरल सहयात्री पौडेल :नामजस्तै सरल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • ११:३७:५७ बजे
  • 1.4K
    SHARES
  • सरल सहयात्री पौडेल :नामजस्तै सरल

    सरल सहयात्री पौडेल सिन्धुपाल्चोक क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन्। नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशका अध्यक्षसमेत रहेका पौडेल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्।
    को हुन् सरल सहयात्री पौडेल ?

    images


    गन्तव्य कठीन तर यात्री सरल। परिवर्तनका सम्वाहकहरुसँगको सहयात्रा । मुलुकको मुहार फेर्ने लक्ष्य। अनि त्यही लक्ष्य हासिल गर्न हिडेका धेरै सहयात्रीहरुसँगको सहकार्य। सहयात्री र परिवारसँगको सहकार्यले दिएको संस्कार। 
    अनि त सुरु भयो १० वर्षे अबोध बालकको क्रान्तिकारी यात्रा। 


    सरल सहयात्री पौडेलको जीवनयात्राका उतार चढावहरु यहीँबाट प्रारम्भ हुन्छन्। जिन्दगीका भोगाइहरु अभिव्यक्त हुन थाल्छन् । सपना समाज परिवर्तनको । माध्यम बाल संगठन । 


    आफ्नै दाइले त्यो बेलाको मानसपटलमा छोडिदिएको अमिट छाप नै जनयुद्धको एउटा होनहार सिपाही बन्ने प्रेरणा बन्यो। लडाकु शिविरमा ब्रिगेडस्तरीय विधान निर्माणको नेतृत्व र पार्टीभित्रको संस्थागत विकासका लागि गरेको अन्तरसंघर्ष नै पार्टीको प्रदेश नेतृत्वमा पुग्ने आधार बन्यो । 


    लक्ष्यको शिखरमा पुग्ने सहिदहरुको सपनालाई मूर्त रुप दिने निरन्तरको प्रयास नै सगरमाथा आरोहणको एउटा मार्गचित्र बन्यो। सगरमाथाको शिखरमा जनमुक्ति सेनाको झण्डा फहराउनु विजयको बिम्व त थियो नै, सँगसँगै सहिदहरुको सपनालाई शिखरमा पु¥याएको सन्देश पनि। 


    अनि जनयुद्ध बेलाको भोगाइ र अनुभवको कलात्मक अभिव्यक्ति नै साहित्यकारको पहिचान बन्यो ।
    २०३८ असोज २१ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका सरल सहयात्रीका जिन्दगीका महत्वपूर्ण दिनहरु राज्य संयन्त्र सशस्त्र संघर्ष नगरी परिवर्तन हुँदैन भन्ने स्कुलिङबाट सुरु हुन्छन्। १८ वर्षको उमेरमै विद्यार्थी राजनीतिबाट सशस्त्र युद्धमा होमिएका सरल सहयात्री जनमुक्ति सेनाको सदस्य हुँदै ब्रिगेड कमाण्डर अनि पार्टीको सच्चा सिपाही हुँदै नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष बन्न सफल एक युवा हुन्। 


    ४१ वर्षको उमेरमै पार्टीको प्रदेशको नेतृत्व गर्न तयार र सफल सरल सहयात्री बोली र व्यवहारले नामजस्तै सरल र सहज छन्। तर उनको जीवन भोगाइ भने सरल छैन। तर कहिल्यै हार खाएनन्। 


    जनयुद्धका बेला ४ दर्जन भिडन्तमा सहभागी भए। कतै हारे कतै हराए। तर आफ्नो मनलाई कहिल्यै हराएनन्। लडाइँका बेला शरीरमा गोली लाग्यो। घाइते भए। जीवन पनि जित र हारको संगम हो भनेर जिन्दगीको यात्रालाई युद्धसँग तुलना गरे। त्यो बेला उनले मृत्युलाई जिते र आज आफ्नै आँखा अगाडि लडेका सहयात्रीहरुको सपनालाई बोकेर हिडेका छन् सबैको सहयात्री बनेर। त्यो सपनालाई बिम्बका रुपमा सगरमाथाको शिखरमा पु¥याए। अब व्यवहारमै प्रदेश हुँदै केन्द्रीय तहमा पु¥याउने योजनामा छन्। जीवन भोगाइ र अनुभवकेन्द्रित उनको साहित्य कलात्मक अभिव्यक्ति र भावनाहरुको संगालो हो । 


    जहाँ उनका सपना लक्ष्य मात्र होइन मुलुकको विकास र समृद्धिको उत्कट चाहना पढ्न सकिन्छ। जिन्दगीको गोरेटोमा हिड्दा हिड्दै उनका सपनाहरु पनि नटुटेका होइनन् । परिवारमै दाइ र बहिनी सहिद भए। भाउजू घाइते भइन्। आफैले स्ट्रेचरको सहयोग लिनुपर्ने भयो। तर सरल एउटा सपना टुटेर चकनाचुर भए पनि अर्को सपना देख्ने हौसला राख्छन्।  


    २०७० सालमा संविधान सभा निर्वाचनमा पराजित भएका सरल सहयात्रीका लागि त्यो नयाँ सिकाइ र अनुभव थियो। तर उनको अगाडिको यात्रा फराकिलो छ। असफलता भनेकै सफलता भेटिने राजमार्ग हो भन्ने उनलाई थाहा छ। उनका आँखामा सफलताका सपनाहरु पढ्न सकिन्छन्। उनका अगाडि अपार सम्भावनाहरु छन्। युवा जोश जाँगर सोच अनि स्पष्ट दृष्टिकोण छ। महत्वपूर्ण सार्थक र मूल्यवान लक्ष्यको क्रमिक प्राप्तिका लागि सरलका पाइलाहरु बागमती प्रदेश अध्यक्षका रुपमा निरन्तर अघि बढिरहेका छन्। 


    पार्टी सञ्चालन लोकतान्त्रिक विधिबाट हुनुपर्छ भन्ने मान्यता राख्ने सरलले प्रदेश कमिटी सञ्चालनका लागि पनि कार्यविधि तयार पारेका छन्। पार्टी जीवनलाई जीवन्त राख्न चाहने सरल प्रदेशको विकासका लागि ५ वर्षको योजना बनाएर अघि बढ्न चाहन्छन्। कृषि र रोजगारीलाई शिक्षासँग जोड्ने उनको योजना छ। उनी परम्परागत पेशामा आधारित सीपलाई बजारीकरण गर्न चाहन्छन् भने श्रम बैंकको स्थापना उनको नयाँ सोच हो। पूर्वाधार निर्माण र पर्वतीय पर्यटनको विकासमार्फत् प्रदेशको समृद्धि उनको सपना हो।
    नामजस्तै सरल सहयात्रीले धेरैसँग सहयात्रा गरिरहेका छन्। राजनीतिको मैदानदेखि सगरमाथाको चुचुरोसम्म। अनि संघर्ष गरिरहेका छन् पार्टी भित्रैदेखि आफ्नै भावनाहरुसँग। पार्टीभित्रको अन्तरसंघर्षले उनलाई अझ बलियो र पाको नेता बनायो। भावनाहरुसँगको संघर्षले एउटा ऊर्जाशील साहित्यकार बनायो। 


    अनि समिता कार्कीसँगको जिन्दगीको सहकार्यले राजनीति र परिवारलाई जोड्ने मौका दियो। सरललाई थाहा छ मूल्यवान् र सार्थक वस्तु संघर्षबिना मिल्दैनन्। त्यसैले उनी संघर्षशील छन्। राजनीतिमा युवाको खोजी भइरहेका बेला ४१ वर्षीय सरल सहयात्रीको राजनीतिक यात्रा जति उज्ज्वल छ, त्यति भरोसा गर्नलायक पनि। मात्र खाँचो छ सरल सहयात्रीको जनतासँग सहज सहयात्रा।

  • सम्बन्धित विषय:

  • # नामजस्तै सरल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology