Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ:गृह मन्त्रालय

निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ:गृह मन्त्रालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७९ शुक्रवार • २०:४०:१० बजे
  • 508
    SHARES
  • निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ:गृह मन्त्रालय

    सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ । शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिनका लागि गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापहरुलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहहरुलाई कानूनी दायरामा ल्याइने बताए ।

    images

    उनले मतदानलाई असर पर्ने खालका कुनैपनि गतिविधि हुन नदिइने स्पष्ट पारे । उनले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिका लगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनैपनि क्रियाकलाप सह्य नहुने बताए । त्यस प्रकारका गतिविधिहरुलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उनले बताए ।

    उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्नेहरु सँग एग्रेसिभ रुपमा हामी थिएनौँ तर केही दिन यता केही हिंसात्मक विषयहरु देखिने सम्भावना देखिएको छ । त्यसैले अहिले एक किसिमले जिरो टोलेरेन्समा छौँ हामी । त्यस्ता खालका गतिविधि र क्रियाकलाप गर्ने समूह, व्यक्ति, संगठनलाई कानूनी दायरामा ल्याउने गरिरहेका छौँ । कतिपय स्थानहरुमा त्यस्ताखालका क्रियाकलाप गर्ने व्यक्तिहरु प्रहरीको हिरासतमा हुनुहुन्छ ।

    कुनैपनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारीको सुरक्षा, मतदाताको सुरक्षा, उम्मेदवारको सुरक्षा, मतदान सामग्रीको सरक्षामा क्षति हुने र खतराहरु कुराहरु छ भने त्यो कुरा सह्य हुनेछैन ।’ उनेल फेरि भने, ‘त्यसमा सरकारले, सुरक्षा निकायहरुले कडा रुपमा त्यसलाई नियन्त्रण गर्नेछ । हामीसँग संख्याका हिसावले केही समूह, केही दल, केही व्यक्तिहरु पनि हुनसक्छन् । हामी तिनीहरुका गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गरिएको छ ।

    निर्वाचनलाई असर गर्ने र विशेषगरी भौतिक रुपमा असर गर्ने खालका क्रियाकलाप हुने खालका गतिविधि छन् भने तिनीहरुलाई नियन्त्रण गर्न हामी सक्षम छौँ र त्यसमा स्पष्ट निर्देशन स्थानीय तहसम्म रहेका सुरक्षाकर्मीहरुलाई पुगिसकेको छ । तदनुरुप हाम्रा कार्यहरु भइरहेका छन् ।’ गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराए ।

    निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्नेगरी काम गर्ने कर्मचारीहरुलाई कारबाही गरिने उनले स्पष्ट पारे । उनले कर्मचारीहरुलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुनेगरी क्रियाकलाप नगर्न निर्देशन दिए । उनेल भने, ‘मतदानस्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मीहरु सम्पूर्णलाई स्पष्ट निर्देशन छ, हाम्रो दायित्व भनेको निष्पक्ष, भयरहीत र शान्तिपूर्ण । निष्पक्षता भनेको सबैभन्दा पहिला हामीबाटै हुन्छ ।

    त्यसमा म पूर्ण रुपमा विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु त्यसमा हामी प्रतिवद्ध छौँ । र त्यस बाहेकका कार्य गर्ने, निष्पक्षताविरुद्धका कार्य गर्ने कुनैपनि व्यक्ति, कर्मचारी र कुनैपनि संगठन होस् गर्छ भने उसले नियम अनुसारको कानूनी कठघरामा ल्याउने छौँ ।’ उनले थपे, ‘आचारसंहीता, निर्वाचन कानूनहरुको उल्लंघन गर्नेलाई तदनुरुप कारबाही हुने नै छ । निजामती कर्मचारीहरु र अन्य कर्मचारीहरुको हकमा विभागिय कारबाही र संगठनको नियम अनुसार कारबाही हुनेछ । त्यसैले कुनैपनि कर्मचारीले यस निर्वाचनमा कुनै पार्टी, उम्मेदवारप्रति वा आफ्नो कुनै आस्था उजागर हुने खालका क्रियाकलाप गरेर निष्पक्षतामाथि आशंका हुने कुरा गर्छन् भने कारबाही गरिनेछ ।’

    गृहसचिव सिंहले मतपेटिकालाई मत गणनास्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पारे । सवारी साधनको अभाव रहेका विकट ठाउँहरुमा भने मतदान अधिकृतले माग गरे अनुरुप शसस्त्र प्रहरीको सवारी साधन प्रयोग गर्न सकिने उनले उल्लेख गरे । अन्यथा सुरक्षा निकायको सवारी साधनमा सिल गरिएका मतपेटिका नबोकिने उनको भनाइ छ । उनले मंसिर ४ गतेको निर्वाचनमा उत्साहपूर्वक भाग लिन र आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुमा अपील गरे ।

    गृहसचिव सिंहकाअनुसार हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रहरुबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिव ३ लाख सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए । त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए ।

    सो टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहीता उल्लंघनका विषयको अनुगमन गर्ने जनाइएको छ । उनका अनुसार नेपाली सेनाका हेलिकप्टरहरु इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा तैनाथ गरिएको छ । नेपालको कुनैपनि स्थानमा बढीमा ३० मिनेटमा पुग्नेगरी नेपाली सेनालाई परिचालन गरिएको गृहसचिव सिंहले जानकारी दिए ।

    त्यस्तै देशभरका ९०३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको उनले बताए । पत्रकार सम्मेलन गर्नुअघि गृह मन्त्रालयमा गृह सचिवसहित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो ।

  • सम्बन्धित विषय:

  • # गृह मन्त्रालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology