म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा नं. ३ र ४ बरंजामा भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान भोलि बिहान ७ बजेबाट सुरु हुने भएको छ ।
मंगला गाउँपालिका वडा नं. ३ लागि मतदान केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयमा रहेको छ भने मंगला गाउँपालिका वडा नं. ४ का लागि मतदान केन्द्र वडा नं. ४ कै कार्यालय बुकेनीमा रहेको छ । मंगला गाउँपालिका ३ र ४ को मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन । मतदानस्थल तयार पार्ने कार्य पनि सम्पन्न भईसकेको छ ।
मंगला वडा नं. ४ बुकेनीमा मतदानस्थलमा मतदानका लागि दुई बुथ निर्माण गरिएको छ । जसमा बुथ (क) मा मतदान अधिकृत दामोदर शर्मा रहेका छन भने बुथ (ख) मा रमन पुन रहेका छन । त्यसैगरी सुरक्षाकर्मी ५ जना , म्यादी १२ जना र कर्मचारी १६ सहित ३३ जना रहेका छन । मतदानका लागि मतदानस्थल लगायत सम्पूर्ण तयारी भईसकेको मतदान अधिकृत दामोदर शर्माले बताए । मंगला गाउँपालिका वडा नं. ४ मा जम्मा मतदाता १३९९ जना रहेका छन ।
मंगला गाउँपालिका वडा नं. ३ महेन्द्र रत्न माध्यमिक विद्यालयको मतदानस्थलमा मतदानका लागि ३ बुथ निर्माण गरिएको छ । बुथ (क) मा मतदान अधिकृत प्रेम बहादुर घर्ती मगर, बुथ (ख) मा सुदिप गौतम र बुथ (ग) मा शेर बहादुर केसी रहेका छन । त्यसैगरी सुरक्षाकर्मी ७ जना म्यादी १५ जना र कर्मचारी २४ सहित ४६ जना रहेका छन । मतदानका लागि मतदान स्थल लगायत सम्पूर्ण तयारी भईसकेको मतदान अधिकृत शेर बहदुर केसीले बताए । मंगला वडा नं. ३ मा जम्मा २६१० जना मतदाता रहेका छन । मंगला गाउँपालिका वडा नं. ३ र ४ बरंजामा कुल मतदाता चार हजार नौ जना रहेको शेर बहदुर केसीले बताए ।
मतदाताले मतदानका लागि अनिवार्य रुपमा आफ्नो मतदान परिचय पत्र , परिचय खुल्ने कागजात जस्तै नागरिकता , सवारीचालक अनुमति पत्र वा राहदानी लिएर मतदानस्थलमा उपस्थित हुनु पर्ने छ ।