Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको नेता बन्ने तयारीमा जुटे, प्रधानमन्त्री प्रस्तावको तयारी

कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको नेता बन्ने तयारीमा जुटे, प्रधानमन्त्री प्रस्तावको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १९:३५:५५ बजे
  • 697
    SHARES
  • कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको नेता बन्ने तयारीमा जुटे, प्रधानमन्त्री प्रस्तावको तयारी

    काठमाडौं–४ मा तेस्रोपल्ट चुनिएसँगै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बन्ने तयारीमा जुटेको बताए । उनको भनाइ बाहिर आएको केही क्षणमै अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट घोषणा गरे– म गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्नेछु ।

    images

    पहिलोपल्ट प्रतिनिधिसभा छिर्ने तयारीमा रहेका विश्वप्रकाश शर्माले यो घोषणा अकस्मात् गरेका भने होइनन् । उनले चुनाव अगाडि पनि गगन थापालाई नै भावी प्रधानमन्त्रीमा अगाडि बढाउन भूमिका खेल्ने बताएका थिए । प्रधानमन्त्री बन्न चुनाव जित्नुपर्ने हुन्थ्यो । थापाले चुनाव जितेपछि पनि विश्वप्रकाश शर्माले बोली फेरेनन् ।

    बरु चुनाव जितेलगत्तै संसदीय दलको नेतामा लड्ने तयारीको उद्घोष गरेका गगन थापालाई थप बल पुग्ने गरी प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताए ।

    विश्वप्रकाश शर्मा पनि झापा–१ बाट उम्मेदवार छन् र मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्ेदवार अग्नि खरेल भन्दा धेरै १४ हजार भन्दा बढी मतान्तरले अगाडि छन् ।


    कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल पनि काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । प्रदीप पौडेलले संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका विषयमा मुख खोलेका छैनन् ।

    प्रदीप पौडेलको चुनावी प्रचार प्रसारमा गगन थापा पनि पुगेका थिए । ‘पौडेल जस्तो व्यक्ति संसदमा आवश्यक रहेको’ भनी भोट मागेका थिए । अर्थात्, चुनाव प्रचार प्रसारकै क्रममा गगन थापाले प्रदीप पौडेलको क्षेत्रमा गएर एउटा सन्देश दिएका छन् ।

    प्रदीप पौडेलको निर्णयलाई समेत ख्याल गर्दै कांग्रेस नेताहरु गगन थापाका प्रतिकुलता र अनुकुलताका केही सीमाहरु देख्छन् ।

    पहिलो – माओवादीको पोजिसन कस्तो आउला ?

    दोस्रो– रास्वपाको हैसियत के हुने छ ?

    यो समाचार लेख्दै गर्दा बेलाको चुनावी नतिजा हेर्दा कुन दल तेस्रो दलका रुपमा उदाउँछ भन्ने यकिन छैन । प्रचण्डले दाबी गरेझैं ‘निर्णायक तेस्रो’ हुन नसके पनि वरियतामा तेस्रो दल रहिरहने माओवादी केन्द्रको प्रयास छ । तर यही स्थानमा आउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जोड लगाइरहेको छ । यस्तो अवस्थामा कथं तेस्रो दल रहे पनि माओवादी केन्द्र सरकार बनाउने सन्दर्भमा निर्णायक नहुन सक्छ ।

    कांग्रेस नेताहरुका अनुसार सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीले सरकार बनाउन सक्ने गरी बहुमत पाएको अवस्थामा राजनीतिक कोर्स शेरबहादुर देउवाकै नेतृत्वमा अगाडि बढ्छ । शेरबहादुर देउवालाई गगन थापाले टक्कर दिए पनि हराउन सक्ने छैनन् । किनभने, टिकट वितरणदेखि समानुपातिक सूचीमा देउवाले आफूलाई अनुकुल बनाउने प्रयास गरेकै छन् ।

    केही गरी गठबन्धनले सरकार बनाउन सक्ने बहुमत प्राप्त गरेन वा माओवादी केन्द्र तेस्रो दल भएर पनि निर्णायक रहेन भने साना दलहरुको साथ खोज्नुपर्ने हुन्छ । यो स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय निर्णायक हुनेछ । रास्वपाले ‘फलाना’लाई प्रधानमन्त्री बनाउने भए सहयोग गर्छु भनेर ‘किङ मेकर’को भूमिका निभाउन सक्छ ।

    रास्वपाका सभापति रवि लामिछानेले नयाँ व्यक्ति अगाडि सर्दा अर्को दललाई सरकार बनाउन सहयोग गर्न सक्ने संकेत गरेका छन् । यसको सोझो अर्थ कांग्रेसबाट देउवा नै प्रधानमन्त्री बन्ने हुँदा सहयोग नगर्ने र नयाँ अनुहार भए सहयोग गर्ने लामिछानेको उद्घोष हो । यसकारण पनि कांग्रेसभित्र प्रकाशमान, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले दवाव महसुस गरेका छन् ।

     

    सत्ता गठबन्धनले सरकार बनाउन नसक्दा एमालेले दाबी गर्न सक्छ । अर्थात, राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य स्वतन्त्र र बागी उम्मेदवारहरुको साथ लिएर कांग्रेस वा एमाले कुनै पनि दलले सरकार बनाउनुपर्ने अवस्था बन्यो भने सहयोग गर्नेहरुले प्रधानमन्त्रीमा नयाँ अनुहार ल्याउनुपर्ने शर्त राख्न सक्छन् ।

    यस्तो परिस्थितिमा सोही अनुसार नयाँ अनुहार अगाडि सार्ने कि सरकार नबनाउने भनेर फेरि चुनावमा जाने भन्ने अहं प्रश्न खडा हुन्छ । दलहरुले सरकार बनाउनै नसकेको भनेर जनआक्रोश नयाँ दलप्रति पोखिन सक्ने त्रासमा दलहरु नयाँ अनुहारलाई नै अगाडि बढाउन बाध्य हुने कातिपयको बुझाइ छ । यो बहस स्वयं कांग्रेसभित्र पनि हुनेछ ।

    यो बुझाइ कांग्रेसका गगन थापा पक्षधरहरुको पनि छ । यस्तो बेला प्रदीप पौडेल लगायतका नेताहरु खुलेर गगन थापाको पक्षमा देखिन सक्छन् । यसकारण पनि गगन थापालाई भावी प्रधानमन्त्रीमा अगाडि सार्ने विश्वप्रकाशको निर्णयले कांग्रेसमा नेतृत्व पुस्तान्तरण हुन दबाब सिर्जना गर्न सक्ने कांग्रेस नेताहरुकै बुझाइ छ ।

    संवादमा शीर्ष नेता

    भावी सरकार र समीकरणका सम्भावनाबारे कांग्रेसका अघिल्लो पुस्ताका नेताहरु अनौपचारिक संवादमा जुट्न थालेका छन् । नेताहरुका अनुसार गगन थापाले संसदीय दलको नेताका लागि तयारी जुट्ने घोषणा गरेकै दिन मंगलबार साँझ नेता प्रकाशमान सिंह, रामचन्द्र पौडेल र शेरबहादुर देउवाका बीचमा अनौपचारिक कुराकानी भएको छ । प्रकाशमान सिंहको पहलमा भएको तीन नेताको भेटमा मुख्यतः संसदीय दलको नेताका विषयमा तीन नेता मिलेर जानुपर्ने विषयमा छलफल भएको छ ।

    ‘तीन नेताको तर्फबाट एक जना मात्रै संसदीय दलको नेताका रुपमा अगाडि सर्नुपर्ने विषयमा छलफल भएको छ’ एक नेताले अनलाइनखबरसित भने । तर, यी तिनै जना संसदीय दलको नेता र प्रधानमन्त्रीका आकांक्षी हुन् । प्रकाशमानले चुनाव प्रचार प्रसारका क्रममा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । रामचन्द्र पौडेलले मुलुकले आफ्नो नेतृत्व खोजेको बताउँदै आएका छन् ।

    जबर्जस्त नयाँ अनुहार भनेर संसदीय दलका प्रतिस्पर्धा हुने परिस्थिति बन्दा बाजी मार्न सकिन्छ कि भन्ने दाउ प्रकाशमानको पनि छ । केही नेताहरु गगन थापाले बलियो माहेल बनाए प्रदीप पौडेललाई अघिल्लो पुस्ताका नेताहरुले भिडाउन सक्ने आंकलन पनि गर्छन् ।

    गगन थापासँग लड्न सक्ने नेताको रुपमा पौडेललाई लिइन्छ । यसकारण पनि यी दुई नेतालाई एक हुन नदिएर भिडाउने र तेस्रो व्यक्तिलाई संसदीय दलको नेता बनाउने प्रयास हुन सक्छ ।

    देश भित्र र बाहिरका अरु शक्ति केन्द्रले पनि गगन थापालाई काउण्टर दिने नेताको रुपमा प्रदीप पौडेललाई लिँदै आएको तर्क गर्नेहरुको यो बुझाइ छ । तर, आफ्ना लागि छोड्न देउवा, रामचन्द्र र प्रकाशमान तयार नहुँदा पुस्तान्तरणको विषय उठाएर प्रदीपले नै गगनलाई नै समर्थन गर्ने स्थिति बन्न सक्छ । यो अवस्थामा पनि विश्वप्रकाशको मंगलबारको निर्णयले कांग्रेसमा नेतृत्व पुस्तान्तरण हुनसक्छ ।

    रास्वपासँग संवाद

    सरकार बनाउन रास्वपाको निर्णय निर्णायक हुन सक्ने आंकलनका बीच यस पार्टीका नेताहरु कांग्रेसका नेताहरुसँग संवादमा पुगेका छन् । नेताहरुका अनुसार संवादका मुख्य दुई विषय छन् ।

    पहिलो : अनुभव आदानप्रदान ।

    दोस्रो : सम्भावित राजनीतिक दृश्य

    ‘रवि लामिछाने र केही नेताहरुले फोन गरेर जनताले दिएको मतलाई व्यवहारिकतामा कसरी प्रदर्शन गर्ने हो’ भनेर सल्लाह लिनुभएको छ’ कांग्रेसका एक नेता भन्छन्, ‘उहाँहरुले कांग्रेसबाट सिक्न खोज्नुभएको छ ।’ साथसाथै, संवादमा क्रममा भावी राजनीतिबारे पनि छलफल भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सरकारमा जाने भन्दा पनि संसदमा र जनतामा कसरी प्रस्तुत हुने भन्नेमा आफूहरु रहेको जवाफ फर्काएका छन् । आफूहरुकै कारण सरकार बन्ने र नबन्ने स्थिति आउने र आफूहरुको पार्टी प्रमुख प्रतिपक्षी दलको रुपमा नरहने स्थितिमा सरकार बनाउन सहयोग गर्ने र प्रतिपक्षीको भूमिका खेल्न तयार रहेको वचन दिएका छन् ।

    नेताहरुका अनुसार तेस्रो शक्तिको रुपमा रहन सक्ने आंकलन भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु कांग्रेसका नेताहरुसँग संवादमा आउनु, आवश्यक पर्दा सहयोग गर्ने वचन दिनु जस्ता विषयले कांग्रेसभित्र तरंग नै ल्याइदिएको छ । यही तरंगका बीचमा प्रकाशमान, रामचन्द्र र देउवा अनौपचारिक संवादमा जुटेका हुन भने गगन थापा घोषणै गरेर संसदीय दलको नेताको प्रतिस्पर्धा गर्ने गरी माहोल बनाउन लागि परेका छन् ।Source: onlinekhabar

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology