Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेस-एमालेका कार्यकर्ता भन्छन् : घण्टीमा भोट हालेकै हो

कांग्रेस-एमालेका कार्यकर्ता भन्छन् : घण्टीमा भोट हालेकै हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १९:४०:१८ बजे
  • 403
    SHARES
  • कांग्रेस-एमालेका कार्यकर्ता भन्छन् : घण्टीमा भोट हालेकै हो

    काठमाडौं- ६ को मतगणना हुँदा नेपाली कांग्रेसका धेरै कार्यकर्ताले ठानेका थिए, पार्टीकै उम्मेदवार भीमसेनदास प्रधानले अग्रता लिनेछन् ।  २०७० र २०७४ मा यसै क्षेत्रबाट चुनाव जितेका प्रधान तेस्रो पटक प्रतिस्पर्धामा थिए ।

    images

    तर उनीहरुको अपेक्षा विपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिए । सुरुवातदेखि अन्तिमसम्म लगातार अग्रता कायम राखेका शिशिरले १४ हजार २०४ मत ल्याएर निर्वाचित भए । नेकपा एमालेका उम्मेदवार पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ८ हजार ९१९ मतसहित दोस्रो स्थानमा रहे ।

    २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा पनि सहज जित हासिल गरेका कांग्रेस उम्मेदवार प्रधान भने यसपटक ८ हजार ८०५ मत पाएर तेस्रो स्थानमा झरे ।

    मतगणनास्थल तारकेश्वर नगरपालिका-६ धर्मस्थलीको वडा कार्यालयमा भेटिएका कांग्रेसका कार्यकर्ताको कुरा सुन्दा भीमसेनदास प्रधान हार्नुको प्रमुख कारण कांग्रेसभित्रकै असन्तुष्टि हो ।

    तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका ४९ वर्षीय विजय भण्डारी कांग्रेसमा लागेको ३० वर्ष भयो । २०५४ को स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत रहेका भण्डारी २७ कात्तिकसम्म कांग्रेसका क्रियाशील सदस्य थिए । तर, चुनाव आउनु एक साताअघि उनले कांग्रेस छाडेको घोषणा गरे ।


    विजय भण्डारी
    ‘परिवार र नातागोतासहित मेरो मात्रै आफन्त ८८ जना कांग्रेसका सक्रिय कार्यकर्ता हुन् तर हामीले कांग्रेस छाड्यौं’ मतगणना स्थलबाहिर भेटिएका भण्डारी भन्छन्, ‘कांग्रेस छोडेर घण्टीलाई भोट हाल्छु भन्दा मैले शिशिर खनाल भन्ने मान्छे देखेको समेत थिइनँ ।’

    भण्डारीका अनुसार कांग्रेसले जनतालाई दासझैं ठान्यो । ३ महिनाअघि टोलको समस्या लिएर भेट्न खोज्दा प्रधानले भेट्न समय नदिएकामा उनको चित्त दुखेको रहेछ । ‘जनताको समस्या, सडक, पूर्वाधार, खानेपानी र फोहोर व्यवस्थापन त परको कुरा भोट दिएका जनतासमेत नभेट्ने नेता र यस्तो पार्टी किन चाहियो’ भण्डारीले आक्रोश पोखे ।

    सरकार र सत्ताका लागि कांग्रेसले विचार र सिद्धान्त नै नमिल्ने माओवादीसँग गठबन्धन गरेकाले ‘भावी पुस्ताले नसरापोस्’ भनेर बिद्रोह गरेको भण्डारी बताउँछन् । ‘साम्यवाद र पूँजीवाद घाँटी जोडे । सिद्धान्त विचलन भयो । कार्यकर्ता र उनीहरूको समस्या आफ्नो ठानेनन्’, भण्डारीले भने ।

    काभ्रेस्थली कार्की चोकका कुमार खत्री मजदुर संगठनको राजनीतिबाट एमालेमा लागेको २०४२ सालदेखि हो । यो निर्वाचन क्षेत्रबाट चुनाव जिताउन योगेश भट्टराईदेखि धेरै नेताका लागि दुख गरेको उनले अनलाइनखबलाई सुनाए ।


    ‘एउटा चुनावी क्याम्पेनमा खुट्टा समेत भाँचियो’, खत्री सम्झिन्छन्, ‘हामीले दुख गराएर पार्टी र संगठन टिकाएको ठाउँमा एमालेले टुरिष्ट उम्मेदवार पठायो । हामीले भोट हाल्ने नेता हामीले भनेको हुनुपर्दैन । हामी सधैं दलका दास हुनुपर्ने ? अहिलेको हाम्रो मत जनताको चोखो र पवित्र मत हो ।’

    कांग्रेस र एमालेका कार्यकर्ताको कुरा सुन्दा पार्टीको उम्मेदवार मन नपरेपछि कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई रोजेको बुझ्न सकिन्छ । काठमाडौं-६ मा तारकेश्वर नगरपालिका, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाकाका केही वडा पर्छन् । धेरैजसो भूभाग भने उत्तरी क्षेत्रको तारकेश्वर नगरपालिका पर्छ ।

    तारकेश्वरको काभ्रेस्थली क्षेत्रमा रसुवा र नुवाकोटबाट बसाइँ सरेर अएकाहरुको बसोबास छ । यहाँका वासिन्दाले यसअघिको निर्वाचनमा कांग्रेस वा एमालेलाई मत दिएका थिए । तर दुवै पार्टीबाट यस क्षेत्रमा विकास र जनताको समस्यामा कुनै काम नभएको ती दलका कतिपय कार्यकर्ताले सुनाए । काभ्रेस्थलीका एक युवक वुद्धिमान डिमडुङ उनीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाललाई पनि चिनेका छैनन् । ‘घण्टीको उम्मेदवार राम्रो छ’ भन्ने सुनेकै भरमा भोट दिएको उनी बताउँछन् ।

    ‘२०७४ मा जिताएर पठाएपछि भीमसेन दासबाट यो क्षेत्रले के पायो ? के हाम्रो निर्वाचन क्षेत्र कांग्रेस र एमालेको प्रयोगशाला हो’ उनले प्रश्न गरे, ‘अनि हामी उनीहरुको दास हो ।’


    ‘मोटरसाइकलमा तेल हालेर, चुनाव पैसा बाँडेर जनतालाई दास बनाएर नेता बन्ने दिन हामीले बिद्रोहबाट बन्द गरेका छौं । सक्षम मानिसलाई पहिलोपटक निष्पक्ष ढंगले भोट हालेका छौं’ डिमडुङले अगाडि भने ।

    काठमाडौं-६ मा कांग्रेसको प्रचार अभियानमा खटिएकी एक स्थानीय नेतृ घण्टीमा भोट नहाल्न कार्यकर्तालाई सम्झाउन नसकेको बताउँछिन् । कतिपय कार्यकर्ताले त कांग्रेस उम्मेदवार प्रधानकै चुनावी कार्यक्रममा खुलेआम घण्टीमा भोट हाल्ने सुनाउथे ।

    ‘चुनावी अभियानमा भीमसेन दाइ अघिअघि हिंड्नुहुन्थ्यो । उहाँलाई नमस्कार गरेपछि कार्यकर्ता हामीलाई तानेर भन्थे हामी कांग्रेस भएकै कारण सधैं यिनको दास बन्न सक्दैनौं, भोट हाल्दैनौं’ ती नेतृ भन्छिन्, ‘पार्टी र गठबन्धनको निर्णयले कार्यकर्ता बिच्किए । भोट अन्तै सर्‍यो ।’

    कांग्रेस उम्मेदवार प्रधान पनि राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसकै मतबाट चुनाव जितेको बताउँछन् । उनले पार्टीको १४ औं महाधिवेशनको तुस केही मात्रामा निर्वाचनमा देखिएको पनि सुनाए ।

    चुनाव जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका खनालले आफूले परम्परागत राजनीतिक दलकै माया र साथ पाएर चुनाव जितेको बताए ।

    Source:onlinekhabar

  • सम्बन्धित विषय:

  • # घण्टीमा भोट हालेकै हो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology