Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चुनावमा कांग्रेसले धोका दियो,सरकारमा नजाने माओवादीको तयारी

चुनावमा कांग्रेसले धोका दियो,सरकारमा नजाने माओवादीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • १४:२१:३३ बजे
  • 3.3K
    SHARES
  • चुनावमा कांग्रेसले धोका दियो,सरकारमा नजाने माओवादीको तयारी

    सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन ।

    images

    गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ । चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए । माओवादीसहित अरु दलले मत दिएपनि कांग्रेसले नदिँदा एमाले बलियो भएको सापकोटाले बताए । ‘हामीले कांग्रेसलाई मत दियौं, हामीलाई कांग्रेसले मत दिएन । गठबन्धनमा कांग्रेसले धोका दियो’ ‘गठबन्धन गरेर माओवादीलाई तात्विक रुपमा खास्सै फरक परेन ।

    हाम्रो काँधमा चढेर कांग्रेस ठूलो भयो ।’ यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खास्सै औचित्य नदेखिएको बताए । अब गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने गलत सावित गरेको साहले बताए । यस्तै माओवादी केन्द्रीय सदस्य दिनेश महर्जनले गठबन्धनमा कांग्रेसले धोका दिएकाले अबको ५ वर्ष माओवादी सरकारमा जानै नहुने बताए ।

    ‘हामी सत्तामा बसियौ सरकारको नेतृत्व पनि गर्यौं’ महर्जनले भने, ‘अहिलेको चुनावमा जनताले प्रतिपक्षमै बस भनेर जनमत दियो । अबको ५ वर्ष सत्तामा नगएर पार्टी निर्माणमा लाग्नुपर्छ ।’ माओवादी चुनावी परिणामबाट सानो आकारमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ ।

    अब पार्टीलाई कस्तो बनाउने र कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा नेताहरूले आ–आफ्नै सुझावहरू दिन थालेका छन् । गत बिहीबार पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले फेसबुकमार्फत पार्टीलाई बलियो बनाउन नौ बुँदे सुझाव दिएका छन् । अबको प्रतिकूलतामा चुनाव लडेर जित्न जमिनमा दाह्रोसँग खुट्टा टेक्नुपर्ने टिप्पणी गरे ।

    ‘पार्टीका नेताहरूले पिँधका मान्छेहरूको मुद्दा बोक्नुपर्छ, संगठनमा विधि पद्धति चलाउनुपर्छ, राज्यको प्रतिनिधि हुँदा सरल,सस्तो र छिटो डेलिभरी दिनुपर्छ, नेताहरूले चाकरीवाज कार्यकर्ता खोज्नुहुन्न’ न्यौपानेले भने, ‘कार्यकर्ताहरूले नेताहरूको बाह्रमासे गीत गाउनु हुन्न, परिवार सम्पतीप्रतिको अचाक्ली मोह त्याग्नुपर्छ, चुनावी अंकगणितका लागि विजातीय वर्गसँग मिल्नुहुँदैन ।’ पैसाका लागि तस्कर र ठेकेदार दलालहरुसँग उठबस गर्न नहुने न्यौपानेको सुझाव छ ।

    अब माओवादीले पार्टी निर्माणमा कस्तो नीति र योजना अख्तियार गर्छ भन्ने विषयमा बहस हुन थालेको छ । माओवादीमा यो ५ वर्ष सरकारमा जान नहुने मत बलियो हुँदै गएको छ । अरूको नेतृत्वको सरकारमा सहभागी हुँदा परिणाम देखाउन नसकिने भएकाले प्रतिपक्षमै बसेर पार्टी बनाउन लाग्नुपर्ने नेताहरूको भनाई छ । तर, सरकार बन्न नसक्ने अवस्थामा भने समर्थन मात्रै गरेर सत्ता बाहिर बस्नुपर्ने सापकोटाले बताए ।

    ‘सरकारमा जाँदा परिणाम देखाउन नसक्ने संलग्नता मात्रै हुने भयो । ओली सरकारमा सहभागी भयौं । उनले गरेका भ्रष्टाचार अनियमितता र गलत क्रियाकलापको अपजस हामीले लिइ दिनुपर्ने भयो । देउवा सरकारमा सहभागी भयौं । उनले गर्न नसकेका अपजस हामीले लिनुपर्ने भयो’ सापकोटाले भने, ‘त्यसैले यो ५ वर्ष माओवादी सरकारमा जानु हुँदैन ।

    सरकार नबन्ने स्थितिमा समर्थन गरेर सहयोग गर्नुपर्छ । आफैंले नेतृतव गर्ने अवस्था हुने अवस्था बाहेक सरकारमा जानुहुँदैन ।’ आफै नेतृत्व गर्ने अवसर पाए आफ्ना नीतिहरू लागू गरेर काम देखाउन सकिने सापकोटाले बताए । तर, भर्खरै निर्वाचित भएर आएका प्रायः सांसदहरुको भने सरकारमा सहभागी हुनुपर्ने मत बलियो छ ।

    पार्टी अध्यक्ष प्रचण्डले सरकारमा जाने/नजाने विषयमा कस्तो निर्णय गर्छन् अहिल्यै भन्न सक्ने अवस्था छैन । यदि माओवादी ५ वर्ष सरकार बाहिरै बसेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर संगठन बलियो हुने अवस्था छ ।

    सत्ता बाहिरै बसेमा बारम्बार माओवादीलाई लाग्दै आएको सत्ता लिप्साको आरोप समेत पखालिने सम्भावना छ । सरकारमा जाने÷नजाने विषयमा अध्यक्ष प्रचण्डले कस्तो निर्णय गर्छन् अहिलै भन्न सक्ने अवस्था छैन ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology