Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महासचिव शंकरको गृहजिल्लामा एमाले ‘क्लिन स्वीप’

महासचिव शंकरको गृहजिल्लामा एमाले ‘क्लिन स्वीप’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • २१:०४:३५ बजे
  • 796
    SHARES
  • महासचिव शंकरको गृहजिल्लामा एमाले ‘क्लिन स्वीप’

    कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव पदलाई शक्तिशाली मानिन्छ । पार्टीका महासचिवलाई भावी नेतृत्वका रूपमा लिइने गरिन्छ । तर, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशकै ठूलो कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल भने कमजोर सावित भए ।

    images

    पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार थिए । तर, उनले निर्वाचन जित्न सकेनन् । त्यसो त पोखरेल मात्र हारेनन्, उनको जिल्लामा एमाले ‘क्लिन स्वीप’ नै भयो । तीन वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा एमालेका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् । दाङ–२ बाट उम्मेदवार बनेका पोखरेल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रेखा शर्मासँग पराजित भए ।

    माओवादीका उम्मेदवार शर्माले एमालेका पोखरलेलाई १९६ मतान्तरले पराजित गरे । शर्माले २६ हजार ८७७ मत ल्याए निर्वाचित हुँदा पोखरेलले २६ हजार ६८१ मत ल्याएर दोस्रो बने । दाङ–२ को दुई वटै प्रदेशसभा पनि एमालेका उम्मेदवारले जित हासिल गर्न सकेनन् । दाङ–२ को प्रदेशसभा (१)बाट नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भए । कांग्रेसका खनालसँग एमालेका उम्मेदवार बलिभद्र राना १ हजार १७० मतान्तरले पराजित भए ।

    १५ हजार ६१६ मत पाएर खनाल निर्वाचित हुँदा १४ हजार ४४९ मतसहित राना दोस्रो भए । दाङ–२ को प्रदेशसभा (२) मा पनि कांग्रेसकै उम्मेदवारसँग एमालेका उम्मेदवार पराजित भए । कांग्रेसका प्रचण्डविक्रम न्यौपानेले एमालेका गिरीराज केसीलाई ७७७ मतान्तरले पराजित गरे ।न्यौपाने १७ हजार ४६९ मत ल्याए विजयी हुँदा दोस्रो बनेका केसीले १६ हजार ६९० मत ल्याए । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार शान्त चौधरी नेकपा (एकीकृत समजवादी)का नेता मेटमणि चौधरीसँग पराजित भए । मेटमणिले २६ हजार ५६३ मत प्राप्त गरी विजय हासिल गर्दा शान्ताले २१ हजार ४७९ मत मात्रै पाए । चौधरी २०७४ पछि एमालेको संसदीय दलको सचेतक थिए ।

    दाङ–१ को दुवै प्रदेशसभामा पनि एमाले पराजित भयो ।दाङ–१ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका इन्द्रजित थारुसँग एमालेका गंगाराम भट्टराई पराजित भए । थारु १३ हजार ५०५ मत ल्याएर निर्वाचित हुँदा भट्टराईले ११ हजार ७३० मत प्राप्त गरेर दोस्रो बने । त्यस्तै दाङ–१ को प्रदेशसभा (२)मा एमालेका उम्मेदवार कुलबहादुर खत्री कांग्रेसका उम्मेदवार अनुराग खड्कासँग पराजित भए । खड्का १६ हजार २२२ मत ल्याएर निर्वाचित हुँदा खत्री १३ हजार १७० मतसहित दोस्रो बने ।

    दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका कोमल वली पनि पराजित भए । उनी कांग्रेसका दीपक गिरीसँग ७ हजार ८१० मतान्तरले पराजित भए । गिरीले ३६ हजार ८४२ मत ल्याउँदा वलीले २९ हजार ३२ मत मात्रै पाए । यो निर्वाचन क्षेत्रको प्रदेशसभामा–१ मा कांग्रेस र प्रदेशसभा– २ मा माओवादीका उम्मेदवारसँग एमालेका उम्मेदवार पराजित भए ।

    दाङ–३ को प्रदेशसभा (१)बाट कांग्रेसका डिल्लीबहादुर चौधरी १९ हजार ८५० मत ल्याएर निर्वाचित भए । एमालेका घनश्याम पाण्डेले १४ हजार ४५० मत मात्रै पाए ।

    दाङ–३ को प्रदेशसभा (२)मा माओवादीका उम्मेदवार धनबहादुर मास्कीसँग एमालेका उम्मेदवार हुकुमबहादुर बस्नेत पराजित भए । मास्कीले २२ हजार ३२१ मत पाउँदा बस्नेत २० हजार १५८ मत पाएर दोस्रो भए । अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने प्रयासमा रहेका महासचिव पोखरेललाई यो पराजयले ठूलै नोक्सानी व्यहोर्नुपर्ने देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # एमाले ‘क्लिन स्वीप’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology