Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने महेन्द्रबहादुर शाहीको राजनीतिक यात्रा

कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने महेन्द्रबहादुर शाहीको राजनीतिक यात्रा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • २१:०९:१२ बजे
  • 493
    SHARES
  • कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने महेन्द्रबहादुर शाहीको राजनीतिक यात्रा

    विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जीत निकाल्दै सङ्घीय सांसदमा चुनिएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गरेका हुन् । उनले २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    images

    त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भई कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाए । यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनले वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार भई फराकिलो जीत हासिल गरे ।

    पूर्वऊर्जामन्त्रीसमेत रहेका शाही तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको शुरुआती कालदेखि नेता हुन् । तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत रहेका भएका नेता शाही कालीकोटमा मात्रै नभई समग्र कर्णाली प्रदेशमै स्थापित नेता हुन् ।

    विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनले नेकपा एमालेका कुर्मराज शाहीलाई पराजित गरेका थिए । विसं २०७४ मा भएको निर्वाचनमा उनले प्रदेशसभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई दुई हजार आठ सय मतले पराजित गरे । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता शाहीले कूल २४ हजार चार सय ३७ मत प्राप्त गरी विजयी बने ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेशनलले १६ हजार दुई सय ३० मत प्राप्त गरे । कर्णाली प्रदेशको पनि पछाडि परेको कालीकोटमा लगातार उहाँको विजयले मुलुकको राष्ट्रिय राजनीतिमा कर्णालीको सबल नेताका रुपमा शाहीलाई स्थापित गरिदिएको छ ।

    त्यसो त कालीकोटबाट लगातार जीत निकाल्ने सीमित नेतामध्ये शाहीको नामसमेत अङ्कित भएको छ । जानकारका अनुसार यसअघि पञ्चायत कालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीन पटक सांसद भएका थिए । विसं २०४६ को आन्दोलनपछि स्थापना भएको बहुदलीय प्रजातन्त्रसमेतमा कुनै पनि नेताले लगातार विजयी हुने अवसर पाएका थिएनन् ।

    कालीकोटको इतिहासमा २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेमबहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलोपटक भएको संविधानसभाको निर्वाचनमा माओवादीका खड्गबहादुर विश्वकर्माले जीतको नाम लेखाएका थिए ।

    माओवादीका पोलिटब्यूरो सदस्य शाही कालिकोटको पचालझरना गाउँपालिका नौ साविकको नानीकोट गाविस–८ मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौंडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिनु भएको हो । उहाँले २०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एकताकेन्द्र०को सदस्यता लिनुभयो । माओवादी जनयुद्धमा उहाँ पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभएको थियो ।

    नेता शाहीले सेना समायोजनको क्रममा राजनीतितर्फ लाग्ने निर्णय गर्नुभयो । संविधानसभा सदस्यका रुपमा उहाँले तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने मध्येका एक हुुनुहुन्छ । संविधानसभा सदस्य एवम् ऊर्जामन्त्री र कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री शाहीले पछाडि परेको कालीकोटलाई विकास र समृद्धिको यात्रा अगाडि बढाउनुपर्ने चुनौती छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology