सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ।
निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन्।
नेकपा एमालेले केही प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा अग्रता लिइरहेको छ। तर सत्ता साझेदार दलबीचको समझदारीअनुसार प्रदेश सरकार गठन हुँदा एमाले प्रतिपक्षमै बस्नुपर्नेछ।
२०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सत्ता साझेदार दलहरूको संयुक्त सरकार सञ्चालन हुँदै आएको छ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।
निर्वाचनमा पनि ५० वर्षमाथिकाकै वर्चश्व
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ ।
१६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन् । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन् ।
अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य छिन् ।
उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन् । ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ ।
आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर समूहका २ जना, ३० देखि ४० उमेर समूहका ६ जना र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित भएका छन् ।
यस्तै ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित भएका छन् ।
७० वर्षभन्दा माथिका १२ जना छन् । जसमा तीन जना ८० वर्षमाथिका निर्वाचित सदस्य छन् ।