कुवेत - वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा रहेका तमू ( गुरुङ) समुदायले ल्होसार धूमधामले मनाएका छन ।

तमू (गुरुङ) हरुको महान राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन तमू समाज कुबेतको आयोजनामा कुवेत स्थित हिजुल कबड एरियामा मनाएका हुन । तमू समाज कुवेतका अध्यक्ष राजु तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिबाट द्विप प्रज्वलित गरि कार्यक्रमको बिधिवत उद्घाटन गरिएको थियो।

यस वर्षको (हि ल्हो) ल्होसार तथा स्यों कै कार्यक्रम २०७९ मा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि, पत्रकार लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो । ल्होसार विशेष कार्यक्रम समाजको प्रथम उपाध्यक्ष याम तमू र उपाध्यक्ष रन्जान तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेका थिए । समाजका महासचिब सुरेश तमूले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए ।त्यसैगरि कार्यक्रममा नेपालको राष्ट्रिय गीत र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो।

तमू ल्हाेसार बिशेष शुभकामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्यदेखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए । यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,पत्रकार महासंघ कुवेत शाखाको उपाध्यक्ष एकराज मल्ल, आईसीसी सदस्य हरी लावती, समाजका संस्थापक वरिष्ठ सल्लाहकार अमर तमू, वरिष्ठ सल्लाहकार खोप तमू लगायतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

ल्होसार विशेष कार्यक्रममा तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैजो, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा छेलो फाल्ने प्रतियोगिता, लठो तान्ने प्रतियोगिता, अन्धनिशान प्रतियोगिता,म्युजिकल चियर प्रतियोगिता राखिएको थियो। प्रतियोगिता पहिलो, दोस्रो हुने बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो ।
समाजले हरेक वर्ष सकृय र उत्कृष्ट ५ सदस्यहरुलाई सम्मान गर्दै आएको छ। समाजले ५ सदस्यहरु सुजन गुरुङ, कुमारी गुरुङ, सरस्वती गुरुङ, कृष्ण गुरुङ,बबिता गुरुङलाई मायाको चिनो, दोसल्ला र खादाले सम्मान गरिएको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा, खसीको मासु साथमा पुलाउको व्यवस्था गरिएको थियो ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गरेका थिए । साथै कार्यक्रममा उपस्थित कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, पत्रकार लगायत लाई बिशेष धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
