एजेन्सी । पुरै विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस संक्रमणलाई निर्मुल पार्ने प्रभावशाली खोप अहिले सबैको पर्खाइको विषय हो । तर विश्वभरका मानिसहरुको यो सोंच र कल्पनामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) की मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनको भनाइले तुषारापात गरिदिएको छ ।
डा.स्वामीनाथनले भनिन, “डब्ल्युएचओ र कोभेक्सको पहलमा आवश्यकतालाई हेरि विभिन्न मुलुकहरुलाई न्यायसंगत रुपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराइने छ । तर यसका लागि खोपको करोडौं डोज उत्पादन गर्नुपर्छ । जुन काम अर्को बर्षको मध्यसम्ममा गर्न सकिने सम्भावना रहेको छ । त्यसपछि १७० मुलुकहरुलाई उनीहरुको अर्थब्यवस्था अनुसार केही न केही मात्रामा खोप वितरण गरिने छ । यसो गर्दा समय त लाग्छ नै ।”
उनका अनुसार कोरोनाविरुद्धको खोप उत्पादन नबढुञ्जेल मास्क लगाउने र सामाजिक दुरी कायम गर्नुपर्ने नियममा केही न केही परिवर्तन ल्याउनकै लागि भएपनि निकै कम संख्यामा खोप उपलब्ध गराउन सकिने सम्भावना पनि छ । सन २०२१ को अन्त्यसम्म खोपको दुई अरब डोज प्राप्त गर्न सकियोस भन्ने लक्ष्य डब्ल्युएचओको रहेको उनले बताइन । यद्यपी खोप विकास र उत्पादनमा चीन निकै आक्रामक गतीमा अघि बढिरहेको छ ।
‘चाइनीज सेन्टर फर डिजीज एण्ड प्रिभेन्सन’ का वू गिजेनले आगामी नोभेम्बर र डिसेम्बरसम्ममा स्थानीय रुपमा खोपको विकास, उत्पादन र प्रयोग गर्ने अनुमति मिल्ने बताएका छन । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चार हप्ताभित्र खोप उपलब्ध गराउने दावी गरेका छन । राजनीतिक दवाबका कारण औषधि कम्पनीहरुले पनि आपतकालिन अवस्थामा खोप प्रयोग गर्ने ईजाजत जारी गर्न सक्नेछन । डा.स्वामीनाथनले भनिन, “क्लिनिकल ट्रायल चलिरहेका सबै खोपहरुलाई कम्तीमा १२ महिनाको समय लाग्छ । यो अवधीमा खोपको खराब असर भए नभएको पत्ता लगाउन सकिन्छ ।”
यद्यपी यो महामारीको समय भएकाले आपतकालिन प्रयोगका लागि कतिपय देशका नियामक निकायहरुले यस्तो निर्णय लिन सक्छन तर यसका लागि पनि मापदण्ड तयार गर्न जरुरी हुन्छ । आम मानिसको जीवन महत्वपूर्ण भएकाले खोपको प्रभावको सही मुल्यांकनमा जोड दिइएको स्वामीनाथनले बताइन ।
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले छिट्टै खोपको ईमर्जेन्सी प्रयोगको गाइडलाईन जारी गर्न सक्ने परिस्थितिलाई पनि उनले नकार्न सकिनन् । चीनले जुलाईदेखि नै आफ्ना पदाधिकारीहरुमा ‘इमरजेन्सी युज अथोराइजेशन’ नीति अनुसार खोपको प्रयोग गरिसकेको छ । जबकी चीनले आफ्ना सेनालाई जुन महिनादेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिसकेको छ ।
चीन र अमेरिकाबीच देखिएको खोप प्रयोगको यो प्रतिस्पर्धा बारे प्रश्न गर्दा डब्ल्युएचओकी मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनले विभिन्न मुलुकका नियामक निकायहरुलाई आफ्नो सिमामा रहेर यस्तो निर्णय गर्ने अधिकार रहेको स्विकारिन । तर अन्तिम चरणको खोप परीक्षणका सबै शर्तहरु पुरा नगरे ईमरजेन्सी लाइसेन्स रद्ध गर्न सकिने उनले बताएको सिएनएनले जनाएको छ ।