कुवेत– नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले छैटौँ वार्षिकोत्सव तथा नयाँ वर्ष सन २०२३ को अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा चर्चित गायक प्रकाश सपुत र हास्यकलाकर विल्सन बिक्रम राई (तक्मे बुढा) ले बेजोड प्रस्तुति दिएका छन ।
कुवेतको जलिबस्थित सेन्ट्रल इङ्लिस स्कुलको प्राङ्गणमा ६ जनवरीका दिन सांगीतिक कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष चन्द्र पाख्रीनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी रहेका थिए । कार्यक्रम संचालन द्वय सुजन घिसिङ र रोशन राइले गरेका थिए भने भूमिराज राईले स्वागत मन्तव्य राखेका थिए ।
त्यसैगरी कार्यक्रममा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी , नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थी, जजिराका प्रतिनिधि सुजन केसी, जनजातिमा महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ , एनआरएनए आईसीसी सदस्य हरि लावती, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कुवेतमा रहेका नेपाली संघ संस्थाका कार्यक्रम तोकिएको समयमा सुरु हुदैन । प्रायः सबै कार्यक्रम ढिला गरि नै सुरु हुन्छ । कार्यक्रम ११ बजेबाट सुरु भनिए पनि २ बाट सुरु भएको थियो । कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । चर्चित गायक प्रकाश सपुत र हास्यकलाकार तक्मे बुढाले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए । साथै स्थानीय कलाकारको पनि प्रस्तुति रहेको थियो ।