गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् ।
चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री नियुक्त गरेका चुमान आफैं माओवादीबाट मुख्यमन्त्रीको दाबी गरिरहेका थिए ।
खगराज नेतृत्वमा मन्त्री भएर जानुका पछाडि आधा कार्यकाल सरकारको नेतृत्व गर्न सजिलो होस् भन्नकै लागि भएको बताए । पार्टीका शीर्ष नेताहरुले गण्डकीमा आलो पालो नै हुन्छ भनिरहेको र त्यो चाँडै नै स्पष्ट हुने चुमानको दाबी छ । ‘एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई समर्थन दिने भन्ने निर्णय भयो ।
त्यसपछि आलोपालोको कुरा आयो र आलोपालो नै हुन्छ,’ चुमानले भने, ‘पछिल्लो समय आलोपालो हुनुपर्छ भन्ने विषय झनै बलियो भएर आएको छ ।’ सरकारलाई सफल पार्नका लागि दलको नेताकै नेतृत्वमा मन्त्रिपरिषदमा जाँदा उपयुक्त हुन्छ भन्ने भएकैले आफू मन्त्री भएर गएको चुमानको दाबी छ ।
‘म सरकारमा जाँदा भोलि माओवादीतर्फबाट म मुख्यमन्त्री बन्नका निम्ति कुनै बाधा अड्चन हुँदैन,’ चुमानले बिहीबार बेलुकी कुराकानी गर्दै भने, ‘आलो पालो होइन भन्ने कुरा गलत हो । अहिले उहाँ मुख्यमन्त्री भएर विश्वासको मत लिँदै हुनुहुन्छ । आधा समय उहाँलाई नै सघाउने काम हुन्छ ।
आधा समयपछि माओवादीबाट मुख्यमन्त्री हुन्छ ।’ आधा कार्यकालका लागि मुख्यमन्त्रीपछिको दोस्रो मन्त्रालय आफ्नो पहिलो रोजाइ भएको चुमानले बताए । पूरै कार्यकाल माओवादीले मुख्यमन्त्री पाउँदैन भनेर आफू मन्त्री भएको नभएर भोलि सरकारको नेतृत्व गर्दा सजिलो हुन्छ भनेर सरकारमा गएको चुमानको स्पष्टीकरण छ ।
सरकारभित्रै गएर पहलकदमी लिँदा र अनुभव, क्षमता पनि भएकाले मन्त्री बन्नुपर्छ भन्ने मुख्यमन्त्रीको पनि जोड रहेको चुमानले बताए । ‘५ दलीय गठबन्धन नै भएको भए पनि आलो पालो हुने कुरा थियो,’ चुमानले भने, ‘पछिल्लो समीकरणमा पनि आलोपालो कै कुरा हो ।’
यसपटक गण्डकीमा मन्त्रालयको संख्या १२ बाट घटाउने तयारी भइरहेको र दोस्रो वरीयताको मन्त्रालय अर्थ वा भौतिक पूर्वाधार माओवादीको भागमा पर्ने चुमानले बताए । चुमान गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रसंसा पनि गरे । गुरुङले मुख्यमन्त्री हुँदा संघीयता कार्यान्वयनका सन्दर्भमा निकै अडान लिएको र त्यतिबेला संघीयताको पक्षमा त्यति धेरै बुझेको अर्को नेता नभएको चुमानको भनाइ छ । थुप्रै विषयमा बहस, छलफल र सहमति पनि पनि हुने गरेको चुमानको भनाइ छ । ‘त्यतिबेला गण्डकीमा संघीयता बुझेको अर्को थिएन, उहाँको अडान थियो ।
त्यसैले एकै ठाउँमा थियौं,’ चुमानले भने, ‘यसपटक एमालेभित्र अल्पमत वा बहुमत होला, त्यो हाम्रो सरोकारको विषय होइन । खगराजजीसँग त भर्खरै काम थालेका छौं ।
एउटै पार्टीमा काम गर्दा छलफल र बहस पनि भए । सरकारमा कम्फटेबल नै होला भन्ने लाग्छ ।’ संघीयताको मर्मअनुसार केन्द्रको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कन्जुस्याइँ भइरहेको र त्यसकोविरुद्धमा अहिले पनि बोल्नै पर्ने अवस्था रहेको चुमानले बताए । चुमान पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।