Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

‘एमाले बाहेकबाट राष्ट्रपति’ माओवादीको लाइन

‘एमाले बाहेकबाट राष्ट्रपति’ माओवादीको लाइन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १९:१८:०९ बजे
  • 220
    SHARES
  • ‘एमाले बाहेकबाट राष्ट्रपति’ माओवादीको लाइन

    फागुन महिनाभित्र पाँच वर्षे कार्यकाल पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बिदा हुँदैछन् । सँगै, नयाँ राष्ट्रपति चयनका लागि दलहरूले अभ्यास सरू गरेका छन् ।

    images

    वर्तमान सत्ता गठबन्धनमा भएको भागबन्डालाई आधार मान्ने हो भने राष्ट्रपति एमालेको भागमा परेको मानिन्छ । तर, औपचारिक निर्णय भएको छैन । र, एमालेले राष्ट्रपति पाउने सम्भावना पनि कम हुँदै गएको देखिन्छ ।

    गठबन्धनमा भागबन्डा हुँदा राष्ट्रपति एमालेले पाउने सक्ने भनिएको मात्र हो । तर, गठबन्धनबीच एमालेले नै राष्ट्रपति पाउने भन्ने विषयमा ठोस निर्णय वा सहमति भने नभएको एक माओवादी नेता बताउँछन् । तर, एमालेले आफूले नै राष्ट्रपति पाउने दाबी गर्दै आएको छ ।


    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले विश्वासको मत नदिएको भए लगभग राष्ट्रपति एमालेले पाउने पक्का जस्तै मानिएको थियो । तर, कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै परिस्थिति फेरिएको छ ।

    सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र पनि कांग्रेसले विश्वासको मत दिएसँगै कांग्रेसप्रति जिम्मेवारीबोध गर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री प्रचण्डले बारम्बार ‘कांग्रेसप्रति मेरो जिम्मेवारी छ’ भनिरहेका छन् ।

    सत्तासँग सम्बन्धित निर्वाचनहरूमा माओवादी निर्णायक शक्ति हो । राष्ट्रपति निर्वाचनमा पनि माओवादी नै निर्णायक छ । त्यसैले माओवादीले जुन उम्मेदवारलाई समर्थन गर्छ उसैले राष्ट्रपति निर्वाचन जित्ने कुरामा दुईमत छैन ।

    नेताहरूको पछिल्लो अभिव्यक्तिहरू सुन्दा माओवादी पनि ‘एमाले बाहेकबाट राष्ट्रपति’ भन्ने पक्षमा पुगेको बुझिन्छ । यसको मुख्य कारण अढाइ वर्षपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपति गरी तीनै पदमा एमालेले कब्जा जमाउने र त्यसबाट उत्पन्न हुने सम्भावित खतराहरू हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र एमालेकै विद्यादेवी राष्ट्रपति हुँदा भएका गतिविधि दोहोरिन सक्ने कुरामा माओवादी सचेत बनेको देखिन्छ ।

    बिहीबार माओवादीको स्थायी समिति बैठक बसेकाे छ । बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीको लाइनबारे छलफल भएको छ । एक नेताका अनुसार अधिकांश नेताले एमाले बाहेकबाट राष्ट्रपति भन्ने पक्षमा धारणा राखेका छन् ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादीका सचिव देवेन्द्र पौडेलले माओवादीको लाइन स्पष्ट पारेका छन् । राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको नेता पौडेलको भनाइ थियो ।

    नेता पौडेलले भने– ‘भोलि हुने सम्भावित दुर्घटना रोक्नका लागि राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्छ भन्ने हाम्रो लाइन हो । यसको मतलब कुनै एक दललाई बाइपास गर्नुपर्छ भन्ने होइन । एमाले, कांग्रेससहित सबै दलहरूबाट साझा व्यक्तिलाई राष्ट्रपति बनाउनु उपयुक्त हुन्छ ।’

    नेता पौडेलले राष्ट्रिय सहमतिको प्रसंग उठाउनुको अर्थ राष्ट्रपति निर्वाचनमा कांग्रेसको पनि साथ आवश्यक भन्न खोजेका हुन् ।

    राष्ट्रपति निर्वाचनमा सत्तारूढ दलले सत्ता समीकरणमा नरहेको दल कांग्रेसलाई पनि भागिदार बनाउन खोजेको विषयले एमालेमा भने तरंग पैदा भएको छ ।

    एमाले अध्यक्ष ओली बारम्बार भनिरहेका छन्– ‘राष्ट्रपतिमा एमालेकै उम्मेदवार निर्वाचित हुन्छन् । यसमा कुनै शंका छैन ।’

    राष्ट्रपति निर्वाचनको सन्दर्भमा राष्ट्रिय सहमतिको प्रसंग उठेपछि अध्यक्ष ओलीले केही दिन अघि संसदबाट बाहिरिँदै भनेका थिए– ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ । एमालेका उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति बन्छ ।’

    अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको नाममा राष्ट्रिय सहमति जुट्ने वा जुटाउनुपर्ने भनेको दिन संसद्‌मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राखेका दिए ।

    राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रशंग उठे पनि राष्ट्रिय सहमति कायम हुने सम्भावना भने कम छ । किनकी, नेकपा एमाले कुनै पनि हालतमा राष्ट्रपति नछोड्ने पक्षमा छ । तर, सत्तारूढ दल माओवादी नै एमालेको चाहनासँग सहमत छैन ।

    माओवादीको भित्री चाहना एमालेबाट नभएर कांग्रेसबाट राष्ट्रपति हुनुपर्छ भन्ने रहेका बुझ्न मुस्किल पर्दैन । माओवादीको यही बुझाइको आधारमा माओवादी कांग्रेसका उम्मेदवारलाई मतदान गरे कांग्रेसका उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछन् । तर, त्यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धन टुट्न सक्छ ।

  • सम्बन्धित विषय:

  • # माओवादीको लाइन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology