कुवेत- नेपाल तामाङ घेदुङ कुवेतले आगामी ३ फेब्रुअरीमा आयोजना गर्न लागेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकार विश्व दोङ जनवरी ३१ तारिक मंगलबार कुवेत आउने भएका छन ।
गायक दोङ २२ तारिक तामाङ समाज युएइले आयोजना गरेको ल्होछार कार्यक्रम सम्पन्न गरि २७ तारिकमा नेपाल तामाङ घेदुङ बहराईनले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३ फेब्रुअरीमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गर्न लागेको सोनाम ल्होछार कार्यक्रममा आमन्त्रित अतिथि कलाकारको रूपमा कुवेत आउन लागेका हुन । उनको आगमनलाइ भव्यताका साथ स्वागत गर्नका लागि ३१ तारिक बिहान ठिक ११ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भैदिनुहुन कुवेतमा रहेका विभिन्न संघ-संस्था, बुद्धिजीवी, पत्रकार तथा सबै नेपालिहरुलाइ आयोजक कमिटिले अनुरोध गरेको छ।
गायन, संगीतकार एरेन्जर समेत गरेर नेपालमा सेलो बेसमा अत्यन्तै ब्यस्त रहेका गायक दोङ यसपालिको ल्होछारमा पनि सधैं जस्तै निक्कै ब्यस्त रहेका छन । कुवेतमा ल्होछार कार्यक्रम सकेपश्चात भोलिपल्टको कार्यक्रमका लागि सोही दिन उनी नेपाल प्रस्थान गर्नेछन। उनको ४ फेब्रुअरीमा धादिङमा कार्यक्रम रहेको छ।
पछिल्लो समयमा युट्युब, टिकटक लगाएतका सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेका माया भन्दा ठूलो जात होइन मलाइ त त्यस्तो लाग्दैन, मायाले बाँधौँ तिमी र म, समाजले केही गर्न सक्दैन, कहाँ पर्यो घर ज्यान मैच्याङ चिनजान गरौंन जस्ता दर्जनौं गीतका गायक दोङको कुवेत भ्रमण यो नै पहिलो हो । यस पहिले सयौं जना नेपाली कलाकारहरुले कुवेतमा प्रस्तुती दिइसकेका छन । यहाँका दर्शकहरुले लगभग सबै जसो कलाकारहरुको प्रस्तुती चाखी सकेका छन । तर कुवेतका दर्शकहरुले उनलाइ चाहिँ कति रुचाउने हो त्यो हेर्न भने बाँकी छ ।