नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए । राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेससहितको आठ दलीय गठबन्धन बनेपछि एमाले असन्तुष्ट बनेको थियो । साथै, एमालले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्रीको विदेश भ्रमण रोकिएपछि एमालेको आपत्ति
परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रोकिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
सोमबार एमालेले परराष्ट्रमन्त्री पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको हो ।
मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई अन्तिम समयमा रोक्नु आपत्तिजनक रहेको एमालेले निष्कर्ष निकालेको छ ।
आजको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको बताए ।