Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेस–एमाले दुवैले संसद्‌मा प्रतिपक्ष बेन्च खोज्दा बैठक प्रभावित

कांग्रेस–एमाले दुवैले संसद्‌मा प्रतिपक्ष बेन्च खोज्दा बैठक प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १४:४०:३४ बजे
  • 358
    SHARES
  • कांग्रेस–एमाले दुवैले संसद्‌मा प्रतिपक्ष बेन्च खोज्दा बैठक प्रभावित

    केही दिनअघिमात्र सरकारबाट बाहिरिएको नेकपा (एमाले) र सरकारमा सामेल हुन खुट्टा उचालेर बसेको नेपाली कांग्रेस दुवैले संसद्मा प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक नै प्रभावित बनेको छ ।

    images

    बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको छ । दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका हुन् ।

    त्यसअघि सभामुख देवराज घिमिरेले कांग्रेस र एमालेका संसदीय दलका नेता उपनेता र प्रमुख सचेतकहरूसँग टेलिफोनमार्फत कुराकानी गरेका थिए । त्यस क्रममा कांग्रेस का प्रमुख सचेतक समेत रहेका रमेश लेखक र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू संसद्को प्रतिपक्ष बेन्चमै बस्ने सभामुखलाई जानकारी गराएका थिए ।

    ‘सभामुखसँग कुरा भएको थियो । त्यस क्रममा हामीले सरकार छोडिसकेकाले प्रतिपक्ष बेन्चमै बस्छौ भनेर भनेका थियौ’, उपनेता नेम्वाङले सभामुखसँग भएको संवाद उद्धृत गर्दै भने, ‘अव त यहाँ विपक्षी र प्रतिपक्ष राख्न नै अप्ठेरो पर्‍यो, कांग्रेसले पनि प्रतिपक्षमै बस्ने भन्नुभयो, मैले ठिकै छ प्रतिपक्ष बढेको त राम्रै हो नि १ भनेर ठट्टा पनि गरे ।’

    नेम्वाङले छेउछेउमा मिलाएर राख्न सुझाव दिएको पनि बताए । ‘साँघुरो गरेर भए पनि मिलेरै बसौला न भनेको थिएँ, मेरो कुरा हुँदासम्म उहाँ (सभामुख) बैठक स्थगित गर्ने मुडमा हुनुहुन्थेन । अहिले एमाले बसेको ठाउँमा (देब्रेतिर) प्रधानमन्त्री बस्ने एक सिट सारेर कांग्रेस र एमालेलाई प्रतिपक्षमा मिलाउन सकिन्छ होला पनि भन्दै हुनुहुन्थ्यो तर फेरि नसार्ने परेछन् किन हो थाहा भएन’, नेम्वाङको भनाइ छ । नेम्वाङपछि सभामुख घिमिरेले कांग्रेस नेतासँग कुरा गरेका थिए ।

    त्यस क्रममा कांग्रेस नेताहरूले आफूहरू सरकारमा गइनसकेकाले प्रतिपक्षमै बस्ने जानकारी दिएको सभामुख निकट स्रोतले जनाएको छ । यसरी दुवै दलले प्रतिपक्षको बेन्च रोजेपछि व्यवस्थापन गर्न समेत असहज हुने भएकाले बैठक नै स्थगित गरेर सभामुखले निकास खोज्नतिर लागेका छन् । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । फागुन १३ गते राष्ट्रपति निर्वाचनको कार्यक्रम सुरु भएपछि एमालेले सरकार छोडेर प्रतिपक्षमा पुगेको छ भने यसअघि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो । तर अहिले कांग्रेस सत्ता गठबन्धनमा गए पनि सरकारमा गइसकेको छैन ।

    संसदीय मामिलाका जानकारहरू यसरी आन्तरिक व्यवस्थापन नै गर्न नसकेर संसद् बैठक प्रभावित हुनु लाजमर्दो विषय भएको बताउँछन् । पूर्व सभामुख दमननाथ ढुङ्गानाले आन्तरिक व्यवस्थापन गर्न नसकेर बैठक धकेलेर थिति बसाल्नुपर्नेहरु नै थिति बिगार्नतिर लागेको बताए । ‘थिति अनुसार नचल्ने, थिति बिगार्नेहरू नै धेरै भए । संसद्मा प्रतिपक्ष बेन्चमा को बस्ने भन्ने कुरा त नियममा पनि लेखिएको छ ।

    परम्परा पनि छ’, ढुङ्गानाले भने, ‘नयाँ परिस्थिति उत्पन्न भएका बेलामा आपसी कुराकानी र अन्तरदलीय छलफलबाट पनि गर्न नसकिने कुरा होइन ।’ उनले यसले सार्वभौम जनताको जनप्रतिनिधित्व गर्ने संस्था सांसदकै अपमान गर्न खोजिएको आफूलाई महसुस भएको बताए । ‘परिवर्तनलाई अस्वीकार गर्ने प्रवृत्तिहरूको बाहुल्य हुन थाल्यो ।

    अहिलेको परिवर्तनलाई अगाडि बढाउन चाहने र नचाहनेबीच द्वन्द्व देखा परेको छ,यसैको अलमलमा परिवर्तन पक्षधरहरु परेका छन्’, ढुङ्गानाले रातोपाटीसँग भने । परिवर्तन पक्षधरहरूको ध्यान सत्ताबाहेक अरू कुरामा नरहेको पनि ढुंगानको भनाइ छ । ‘संसद्को संस्थागत विकास गर्ने, संविधानको संरक्षण गर्नेतर्फ यिनीहरूको ध्यान नै पुगेको छैन ।’

  • सम्बन्धित विषय:

  • # कांग्रेस–एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology