निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन् । मतदाता नामावली संकलन अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जानकारी दिए । महालेखा र महान्यायाधिवक्ताको कार्यालयका मतदाता नामावली प्राप्त भइसकेको उनले बताए । निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार निर्वाचनको तयारी भएको हो ।
तीन वटा संगठन निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नेपाल निजामती कर्मचारी युनियन (संघ) चुनावको तयारीमा जुटेका हुन् । तर, नेपाल मधेसी निजामती कर्मचारी मञ्चलगायत भने विरोधमा उत्रिएका छन् । थ्रेड होल्डका कारण सहभागी हुन नपाउने भएपछि मधेसी कर्मचारी मञ्च विरोध जनाएको हो ।
अघिल्लो निर्वाचनमा १० प्रतिशत मत ल्याउने संगठन मात्रै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले मतदान गर्न पाउनेछन् । कार्यालय प्रमुखबाहेक संघ, प्रदेश, स्थानीय तहमा समायोजन भएका श्रेणीविहीनदेखि आठौं तहका अधिकृतस्तरसम्मका कर्मचारी मतदान सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सर्त र सुविधाको कानुन नबनेकाले समायोजन भएका कर्मचारी मतदानमा सहभागी हुन पाउने जनाएको छ । तर २०७५ पछि लोकसेवा आयोगबाट छनोट भई स्थानीय तहमा पदस्थापना भएका ९ हजार १ सय ६३ कर्मचारी भने मतदानबाट वञ्चित हुने छन् ।
संसद् र स्वास्थ्य सेवाका कर्मचारी निर्वाचनमा सहभागी हुन नपाउने प्रमुख निर्वाचन अधिकृत पौडेलले बताए । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई निर्वाचनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा बहस भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन र कानुन तथा संसदीय मामिला मन्त्रालयको रायमा निर्वाचन कार्यालयले यो विषयमा नीतिगत निकास दिएको पौडेलले बताए ।
‘कानुन र संघीय मामिलाले टुंग्याउन सकेको थिएन, उनीहरूले टुंग्याउन नसकेको विषयलाई मैले टुंग्याएको छु’, उनले भने । स्वास्थ्यसेवाका कर्मचारीको हकमा विभेद गरिएको नेपाल स्वास्थ्यकर्मी संघको पूर्वसहअध्यक्ष ओमप्रसाद उपाध्यायले बताए । उक्त समाचार आजको अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।