Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीको इसारामा चलेको विवादको भारी बोक्दै बिदा भइन् भण्डारी

ओलीको इसारामा चलेको विवादको भारी बोक्दै बिदा भइन् भण्डारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७९ मंगलवार • १०:३४:१३ बजे
  • 529
    SHARES
  • ओलीको इसारामा चलेको विवादको भारी बोक्दै बिदा भइन् भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो पाँचवर्षे कार्यकाल आइतबार रातिदेखि सकिएको छ । कार्यकाल सकिएसँगै उनी घर फर्केकी छन् । नवनिर्वाचित राष्ट्रपतिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार शपथ लिइसकेका छन् । भण्डारी २०७४ फागुन २९ गते पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

    images

    राष्ट्रपति भण्डारीको कार्यशैलीका कारण संवैधानिक परिस्थिति खतराको डिलमा धकेलिएको भन्दै अनेकौं लाञ्छना लागे । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश तुरुन्तै जारी गर्ने तर, शेरबहादुर देउवा सरकारले जारी गर्न पठाएको उही अध्यादेशको विधेयक रोक्ने द्वैध चरित्र प्रदर्शन भएको आरोप खेप्नुपरेको छ । एमालेको ‘वारेस’ बनाउँदै सार्वभौम संसद्को अवमूल्यन गरिएको लाञ्छना भण्डारीमाथि लागेको छ ।

    पछिल्लो कार्यकालको तुलनामा भण्डारीको पहिलो कार्यकाल भने कम विवादित थियो । ओलीको दम्भ र घमण्डको परिणाम दुई–दुईपटक संसद् विघटन भयो । सरकार प्रमुखसँग मिलेमोतो गर्दै संसद् विघटन गरेको गम्भीर आरोप भण्डारीमाथि छ । अन्तिम विकल्प रहँदासम्म विघटन गर्न नपाइने संविधानको बाध्यात्मक व्यवस्थाविपरीत भएको संसद् विघटनलाई भण्डारी किनाराको साक्षी बन्न पुगिन् । तत्कालीन नेकपाभित्र ओली र प्रचण्डबीच विवाद उत्पन्न भएपछि पार्टीको विवाद मिलाउन शीतलनिवासमा डाकेपछि भण्डारीको भूमिकामाथि गम्भीर प्रश्न उठ्यो ।

    सार्वभौम संसद्द्वारा पारित भएर दोस्रोपटक राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संविधानको बाध्यात्मक व्यवस्थाको ठाडो बर्खिलाप भएको भन्दै सबैतिर विरोध भयो । नागरिकता विधेयकलाई दोस्रोपल्ट पनि प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले आफूलाई संविधानभन्दा माथि छु भन्ने सन्देश दिन पुगिन् । यतिबेला सार्वभौम संसद्ले निर्णय गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिका कारण अलपत्र छ ।

    राष्ट्रप्रमुख भएर दलगत र गुटगत स्वार्थभन्दा माथि उठ्न नसकेको भन्दै भण्डारीको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई राष्ट्रपतिसमक्ष दाबी पेश गर्दाको क्षण पनि भण्डारी विवादको भुंग्रोमा परिन् । कांग्रेस, माओवादीसहितका पाँच दलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न देउवाले १४९ जनाको हस्ताक्षर बुझाइसकेको अवस्था थियो । तर, भण्डारीले बहुमत प्राप्त देउवालाई प्रधानमन्त्री नियुक्त नगरी ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिन पुगिन् ।

    त्यही मौकामा ओलीले संसद् विघटन गरे । भण्डारीबाट आँखा चिम्लेर सदर भयो । त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि बहुमत सदस्यको हस्ताक्षर हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्ने आधारमा संसद् पुनःस्थापनाका लागि परमादेश भयो । र, तत्काल देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी भयो । त्यसपछि पनि देउवालाई नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरी नियतवश ‘सर्वोच्चको परमादेश’ अनुरुप भन्दै नियुक्ति दिने प्रपञ्च भयो । देउवाले त्यसरी नियुक्ति लिन ठाडै अस्वीकार गरेपछि बल्ल संविधानको धारा उल्लेख गर्दै नियुक्ति दिएर शपथ खुवाइयो । यति मात्र होइन, भण्डारीको कार्यकाल विवाद र आरोपको अरु लामै शृङ्खला छ ।

    सांसदहरूले शपथ नलिँदै तत्कालीन एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको विषयमा पनि भण्डारीको व्यापक आलोचना भयो । निर्वाचित सांसदको शपथ नै नलिई राष्ट्रपतिबाट ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यता, २०७५ सालमा राष्ट्रपति कार्यालय हातामै हेलिप्याड बनाउन गरिएको एउटा निर्णय पनि विवादमा प¥यो । ओली सरकारले प्रहरीको इतिहास बोकेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने र त्यहाँ राष्ट्रपतिको प्रयोजनका लागि हेलिप्याड निर्माण गर्ने निर्णय लिएको थियो । ओली सरकारको निर्णयमा राष्ट्रपतिले बिनासंकोच चुपचाप समर्थन जनाएको आरोप लाग्यो । पछि नेपाल प्रहरीका पूर्वआइजीलगायत चौतर्फीरूपमा विरोधपछि हेलिप्याड निर्माणकार्य रोकिन पुगेको थियो ।

    गएको माघ २७ मा संघीय संसद्लाई सम्बोधन गरेर फर्किने क्रममा पनि भण्डारी विवादमा तानिइन् । राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीले वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि निर्घात कुटपिट गरे । यो विषयमा पनि चर्को आलोचना खेप्नुप¥यो । कुटपिटको घटनापछि वीरका चिकित्सकहरूले सवारी आगमन नै ठप्प पारे र आन्दोलनमा उत्रिए । उक्त प्रकरणमा पनि भण्डारी चौतर्फी आलोचनाको शिकार भइन् ।

    यतिमात्र नभई राष्ट्रपति हुँदा भण्डारीको सवारीमा देखिएको घण्टौं सडक जाम र जनताले भोगेको सास्तीको विषयमा पनि चर्को आलोचना भयो । सवारीको घण्टौं पीडाका कारण सर्वसाधारणबाट भण्डारीको आलोचना भयो । सवारी जाममा परेकाहरुले ‘हर्न’ बजाएर भण्डारीको विरोध जनाए । हुन त, भण्डारी पहिलोपल्ट महिला राष्ट्रपतिका रुपमा मुलुककै उच्च ओहदामा पुग्दा सबैतिर वाहावाही भएको हो । एमालेका लोकप्रिय नेता मदन भण्डारीकी धर्मपत्नी भएर मात्र होइन, सशक्त महिला आन्दोलनबाट उठेर आएको कारण पनि यसो हुनु स्वभाविकै थियो । तर विडम्वना, घर फर्किँदै गर्दा विवादै विवादको भुंग्रोमा परेर बाटो लाग्नुपरेको छ ।

    राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर ओलीको इसारामा चलेको, एमालेको सरकारबाहेकलाई पूर्वाग्रही व्यवहार गरेको, स्वतन्त्र र तटस्थ भूमिकामा रहन नसकेको, संविधानको संरक्षक र पालकबाटै संविधानसभामार्फत बनेको लोकतान्त्रिक संविधान असफल बनाउने षड्यन्त्रमा सामेल भएको जस्ता आरोपका चाङ छन् । भण्डारीमाथि गरिब नेपालीकी चेली संवैधानिक राष्ट्रपति भएर पनि राजसी ठाँट देखाएको आरोपसमेत लागेको छ ।

  • सम्बन्धित विषय:

  • # बिदा भइन् भण्डारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology