मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरु गरिरहेको आरोप लगाएका छन् । आइतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताए ।
उनले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागेपनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए । उनले भने, ‘क्रिकेट खेलमा दर्शकको रुपमा प्रचण्ड गएका थिए, तर त्यो बेला नारा लाग्यो भनेर भनियो । प्रचण्ड मुर्दावाद देश छोड् भन्ने नारा लाग्यो हामीलाई त त्यो सुन्न पनि लाज लाग्छ तर उनलाई केही लागेको छैन ।
उनले लगातार जनबिरोधी, राष्ट्रबिरोधी कामहरु गरिरहेका छन् । हामीले जनताका बीचमा लगेर अब यी सबैकुरालाई नंग्याउन जरुरी छ । यो भन्दा अघि यति धेरै अत्याचार, शोषण, महंगी, बेराजगारी भएको थिएन । तर अहिले गणतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनेर संविधान लेखे तर समाजवादउन्मुख व्यवस्थाले सबैभन्दा बढी बेरोजगार बनाएको छ ।’ उनले देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लख गर्दै गणतन्त्र पछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको आरोप लगाए । उनले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताए ।
‘माओवादी सबै मिले भन्ने प्रचार भएको छ तर हामी सबै मिलेका छैनौँ। केही पनि मिलेको छैन । सत्तामा भएको माओवादीसँग भइरहेको छलफल कार्यगत एकताको लागि मात्रै भएको हो भनेका छौँ तर मिडियाले डरले सबै मिले भनिरहेका छन् । जुन गलत हो’ उनले भने उनले माओवादीहरु डराएर एकजुट भए भन्ने कुरा गलत रहेको बताए । उनले अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पारे । गजुरेलले भने, ‘जनयुद्धलाई उनीहरुले कसरी व्याख्या गरिरहेका छन् ? जनयुद्धका घटनामा माओवादीलाई दोष लगाइ फौजदारी अभियोगमा कारबाही गर्नुपर्छ भनिएको छ । आफ्नो निर्णय सुनाए । यो जनयुद्धप्रतिको अपमान हो, जनयुद्धलाई अपराधीकरण गरिएको छ । यस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ । किनभने त्यो बेलाको नेतृत्वले त्यसले विश्वासघात गरेको छ ।
आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ । पूर्वमाओवादीको समस्या हो भनेर सोच्यौँ । जनयुद्धलाई शान्तिप्रक्रियाद्वारा समाधान गर्ने प्रक्रिया माओवादीको मात्रै काम होइन, अरुको पनि हो ।’ नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताए ।
उनले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढीरहेको बताए । उनले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु परेको बताए । उनले जनयुद्धमा भएका घटना अदालतले हेर्नेगरी योजना बनाइएको पनि बताए । उनले भने, ‘दुःखका साथ भन्नुपर्छ । बिडम्वना नै भन्नुपर्छ की प्रचण्ड र बाबुरामहरुले जे गरे त्यो प्रतिक्रान्ति थियो । उनीहरुले आत्समर्पण गरे । वर्गीय र दुश्मनका विरुद्धको आत्मसमर्पण उनीहरुले गरिसकेपछि क्रान्तिले धक्का खायो ।
अहिले दुश्मनहरुले यति हेपेको छ क्रान्तिकारी शक्तिलाई की यहाँ दुई जना अदालतका न्यायाधीशहरुले फैसला गरे । उनीहरुले अब जनयुद्धमा भएका घटनाहरुमा न्याय दिनका लागि पहिला सत्य निरुपण तथा मेलमिलापमा लगेर मुद्दाहरुको तर उनीहरुले अहिले तमासे बनेका छन्, जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा गएका छन् ।’ गजुरेलले भने, ‘पूर्व माओवादीहरुले सल्लाह गरेको थियौँ ।
सरकारी माओवादी र बिद्रोही माओवादीको बीचमा सल्लाह गरेका थियौँ । एउटै घानमा हाल्छौँ भनिसकेपछि सरकारी माओवादी र बिद्रोही माओवादीबीच छलफल भयो । कार्यगत एकताका लागि छलफल गरेपनि सफल भएन ।’ नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरुमा माओवादीलाई दोष लगाइ अपाराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाए ।