२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो ।
२०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।
जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।
नेपालको जनसङ्ख्यामा असन्तुलित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रौँराष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् । आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् ।
उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।
उनले कोरोना महामारिका कारण समयभन्दा ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको बताए ।