Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुलुक परिवर्तन गर्न पत्रकारिताको ठूलो योगदान छ : मन्त्री शर्मा

मुलुक परिवर्तन गर्न पत्रकारिताको ठूलो योगदान छ : मन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • १९:४६:२५ बजे
  • 409
    SHARES
  • मुलुक परिवर्तन गर्न पत्रकारिताको ठूलो योगदान छ : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको परिवर्तन, संविधान निर्माणलगायत सबै आन्दोलनमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउनुभएको छ ।

    images

    उहाँले पत्रकारिताको अबको भूमिका फरक रहने भन्दै भूमिका परिवर्तन गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घको आयोजनामा आज बुद्ध जन्मस्थल लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन–२०७९ को उद्घाटन गर्दै मन्त्री शर्माले अबका दिनमा भएका परिवर्तनले जनतालाई के दियो भन्ने विषयमा मिडिया चनाखो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्मको प्रयासमा पनि कानून बन्न नदिने र बनेका कानून पनि कार्यान्वयन हुन नदिने अवस्थाका बारेमा मिडियाले आवाज उठाउन आवश्यक छ ।”

    मन्त्री शर्माले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले मिडिया सम्मेलनले न्यूनतम पारिश्रमिकको कार्यान्वयनका विषयमा गम्भीर छलफल गर्न सुझाव दिनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष शिक्षु मैत्तयले लुम्बिनीको विकासका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले मिडियालाई समृद्धि र शान्तिको पक्षमा सकारात्मक भएर काम गर्न आग्रह गर्नुभयो । महासङ्घका सल्लाहकार डा महेन्द्र विष्टले परम्परागत ढाँचाबाट मिडियालाई लामो समय टिकाउन सकिने अवस्था नभएको र मिडिया क्षेत्रको पुनःसंरचनामा जोड दिनुभयो ।

    महासङ्घका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले मिडियाको दर्ता तथा नवीकरण जस्ता सामान्य कुराका लागि पनि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले सबैले चाहना गर्ने हो भने महासङ्घको सदस्यता शुद्धीकरण सम्भव भएको बताउनुभयो ।

    महासङ्घका सल्लाहकार निर्मला शर्माले प्रेस स्वतन्त्रताको विषयमा सम्मेलनमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो । प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्सालले शुद्धीकरणका लागि प्रेस काउन्सिल जस्तै छुट्टै संरचना बनाएर लाग्न सुझाव दिनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले महासङ्घको सदस्यता शुद्धीकरणमा नेपाल पत्रकार महासङ्घलार्ई खुट्टा नकमाउन आग्रह गर्नुभयो ।

    प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले नयाँ ल्याउने भनिएको सञ्चार विधेयक विगतमा जस्तो छलफलमै सीमित नगराउन सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रम महासङ्घ अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा भएको थियो । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने महासङ्घले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology