करिब–करिब नियन्त्रणमा आएको युरोपमा लापरबाहीका कारण पुनः कोरोना भाइरस संक्रमण तीव्र भएको छ । संक्रमणका घटनाहरू डरलाग्दो रूपमा बढेकाले यस महादेशमा अत्यन्तै गम्भीर अवस्था आउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिइसकेको छ ।
अति प्रभावित राष्ट्रमध्ये स्पेनमा सरकारले लगाएका विभिन्न नियमविरुद्ध आइतबार म्याड्रिडमा प्रदर्शन गरिएको छ । स्पेनमा संक्रमण फैलाउनमा युवा जमातले पनि महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । लकडाउनको समयमा उनीहरू आफ्नै परिवारसँग घरमै बसे । तर तीन महिनाको लकडाउन खुला भएपछि आयोजना भएका सडक पार्टी र रात्रिजीवन एवं पारिवारिक भेटघाट संक्रमण फैलाउने ‘क्याटालिस्ट’ को काम गरेको देखिन्छ । लकडाउनका समयमा त्यहाँका युवाले नियम पालना गरे पनि त्यसपछिको समयमा सामान्य अवस्थाकै जीवनशैली अपनाएर निकै आरामदायी जीवनयापन गरेकाले संक्रमण बढेको प्राध्यापक हर्नान्डेजले बताए ।
समाजवादी प्रधानमन्त्री पेट्रो सान्चेजको राष्ट्रिय सरकारले मृत्युदरबारे झुट बोलेको प्रतिद्वन्द्वीको आरोप छ भने कट्टरपन्थी पपुलर पार्टीले म्याड्रिडमा सञ्चालन गरेको क्षेत्रीय सरकारले पनि त्यस्तै आलोचना सहनु परेको बीबीसीले जनाएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि स्पेनमा यात्रा गर्नबाट धेरै युरोपेली राष्ट्रले रोक लगाएका छन् । स्पेनबाट अन्त जानेलाई पनि १४ दिनको क्वारेन्टाइन र पीसीआर परीक्षण अनिवार्य गरिएको छ । त्यहाँको सरकारले ६ वर्षदेखि माथिकालाई मास्क र सामाजिक दूरी अनिवार्य गरेको छ ।
सामाजिक दूरीको सुनिश्चितता नभएका खुला क्षेत्रमा चुरोट पिउन बन्देज लगाएको छ । डिस्को र बारलाई पुनः बन्द गराएको छ । १० जनाभन्दा बढीलाई भेला हुन निषेध गरिएको छ भने टाढै बसेर काम गर्ने शैलीलाई प्रोत्साहित गरेको छ ।
दैनिक संक्रमणको घटनामा वृद्धि हुनेमा स्पेनपछि फ्रान्स दोस्रो हो । फ्रान्समा गत शनिबारसम्म २४ घण्टाको अन्तरालमा १३ हजार ५ सय नयाँ संक्रमित भेटिएका छन् । फ्रान्सेली सरकारले परीक्षणलाई निःशुल्क बनाएपछि ठूलो संख्यामा परीक्षण भएका कारण संक्रमितको संख्या बढेको त्यहाँका अधिकारीले जनाएका छन् । फ्रान्समा गर्मीको बिदापछि संक्रमणको घटनामा ह्वात्तै वृद्धि भएको पाइन्छ । संक्रमणको दोस्रो लहरले उचाइ लिन थालेपछि केही सावधानी अपनाउन थालिएको छ । राजधानी र अन्य केही सहरमा मास्क अनिवार्य गरिएको छ भने पेरिसलगायत २१ वटा क्षेत्रलाई रेड जोन घोषणा गरिएको छ ।
महामारीको दोस्रो लहर रोक्न कतिपय मुलुकले थप लकडाउनको तयारी गरिरहेका छन् । तीमध्ये बेलायतमा २५ दिनयता संक्रमणको दर बढ्दो पाइन्छ । उचित कदम नचालिए एक महिनापछि दैनिक ५० हजारको संख्यामा नयाँ संक्रमित थपिन सक्ने चेतावनी बेलायती सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले दिएका छन् ।
त्यसैगरी अस्पताल भर्नाको दर पनि प्रत्येक आठ दिनमा दोब्बर भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि सबैभन्दा बढी मृत्यु हुने देशमा बेलायत पर्छ ।
बेलायती सरकारले हालै ६ जनासम्म मात्र भेला हुन पाउने नियम ल्याएको छ । तर आलोचकहरूले यो उपाय अपर्याप्त रहेको र रेस्टुरेन्ट तथा पबहरूमा सामाजिक दूरीलाई ख्याल नै नगरी रमाउने गरेको देखिएको बताए।त्यसैगरी कोरोनाको बाबजुत पनि सरकारले जनतालाई कार्यालयमा गएर काम गर्न प्रोत्सहन गरेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।