Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • १०:५४:०५ बजे
  • 517
    SHARES
  • नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

    एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ । 

    images

     अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार नगरपालिकामा गैँडाकोट बचाऔँ सङ्घर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति गरिएको छ । 

      गैँडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका छन् । नवलपुरतर्फका बासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो । हरेक बर्खायाममा गैँडाकोट नगरपालिकाको वडा नं १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ । 

     नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले बताउनुभयो । “नारायणी नदीको पुलबाट उत्तरतर्फ सि बिच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि गैँडाकोट क्षेत्रमा पनि संरक्षणका कार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आगामी एक साताभित्र तटबन्धका लागि डिपीआर प्रक्रिया अघि बढाइनेछ”, सहमति भएका विषयबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘गैँडाकोट–६ र ९ स्थित किनार क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक कार्य अघि बढाउने निर्णयमा पुगेका छौँ ।” 

     त्रिपक्षीय सम्झौतापछि गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताउनुभयो । तटबन्धको डिपीआर, संरचना निर्माणलगायत सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । सहमतिपछि सङ्घर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # नारायणी नदी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology