Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ

भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८० बिहिवार • १०:३७:२३ बजे
  • 316
    SHARES
  • भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ

    नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतको अयोध्या एवं वनारसमा गरिएका पर्यटन प्रवद्र्धनका छुट्टाछुट्टै कार्यक्रममा पोखरासँगको पर्यटकीय सम्बन्ध मजबुत बनाउन ‘कनेक्टिभिटी’लाई सहज एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

    images

    अयोध्या एवं वनारसका पर्यटन व्यवसायी एवं सम्बद्ध अधिकारीले प्राकृतिकरुपमा मनमोहक गन्तव्य पोखरा भए पनि त्यहाँ सीधा हवाई सम्पर्क भइनसकेका अवस्थामा सडक पूर्वाधार पनि समस्याका रुपमा रहेको बताए । सडक मार्गमा निर्माण कार्य भइरहेका कारण आवतजावत गर्न असहज भएको बताउँदै उनीहरूले निर्माण कार्य चाँडो सम्पन्न गर्नुपर्ने जरुरी रहेको आवश्यकता औँल्याए ।

    उत्तर प्रदेश पर्यटन विभागका अधिकारी आरपी यादवले अयोध्या र पोखराबीचको पर्यटकीय सम्बन्ध बलियो बनाउनुपर्ने बताउँदै पर्यटकीय साझेदारीमा जोड दिनुभयो । अयोध्यासहित उत्तर प्रदेशबाट बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक पोखरा जाने गरेको बताउँदै उहाँले आगामी दिनमा यो क्रम अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    अयोध्यामा रामसीताको मूर्तिका लागि कालीगण्डकीबाट ल्याइएको देवशिलाले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको बताउँदै कार्यक्रमका सहभागीले सदियौँदेखिको दुई देशको सम्बन्ध आँफैंमा विशिष्ट रहेको उल्लेख गरे ।

    पोखरा जुनसुकै मौसममा पनि जान सकिने गन्तव्य भएको बताउँदै वनारसका वरिष्ठ पर्यटन व्यवसायी कौलेश कुमारले पोखरा जाने निर्माणाधिन बाटोको काम चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो । वनारस धार्मिकरुपमा महत्वपूर्णस्थल रहेको र पोखराले पनि धार्मिकरुपमा महत्व राख्ने उल्लेख गर्दै उहाँले यी दुवै स्थानको पर्यटकीय विकासका लागि साझेदारी गर्न सकिने धारणा राख्नुभयो । अर्का पर्यटन व्यवसायी सन्दीप पटेलले पोखरासँगको पर्यटकीय सम्बन्ध पर्यटकीय साझेदारीका माध्यमबाट बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखराको प्राकृतिक सौन्दर्यता र त्यहाँको मौसम घुम्नका लागि उपयुक्त भएको उहाँको भनाइ छ ।

    समस्याको रुपमा रहेको कनेक्टिभिटीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले सडक मार्गबाट सहजरुपमा पोखरा पुग्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । दूरी छोटो भए पनि सडक मार्ग निर्माणाधीन अवस्थामा रहँदा पुग्न असहज हुने गरेको उहाँको भनाइ छ ।

    पोखरा पर्यटन परिषद्का अध्यष पोमनारायण श्रेष्ठले आफूहरू न्यानो आतिथ्यताका लागि सदैव तयार रहेको बताउनुभयो । सडक सञ्चालन चाँडो व्यवस्थित गर्न पर्यटन व्यवसायीका तर्फबाट पनि आफूहरूले निरन्तर दबाब दिइरहेको बताउँदै उहाँले निर्माण कार्र्य यथासक्य चाँडो गर्न सम्बद्ध निकायसँग पहल गरिरहेको बताउनुभयो ।

    प्राकृतिक दृश्यावलोकनसँगै साहसिक पर्यटनका हरेक गतिविधि एकसाथ पोखरामा गर्न सकिने उहाँले बताउनुभयो । नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनसँगै भारतबाट जाने पर्यटन व्यवसायीले सीमा क्षेत्र एवं नेपालमा रहँदाका अवस्थामा भोग्ने गरेका समस्याबारे प्रत्यक्षरुपमा जानकारी लिनु पनि आफूहरूको उद्देश्य रहेको बताउनुभयो ।

    कार्यक्रमका क्रममा भारतीय पर्यटकबाट प्राप्त सुझावलाई लिएर देखिएका समस्यालाई समाधान गर्नेतर्फ प्रयास पनि गरिने उहाँको भनाइ छ । पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले पोखरा सबै मौसमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै सहजरुपमा घुम्दै भरपुर मनोरञ्जन लिन भारतीयलाई आग्रह गर्नुभयो ।

    सडक निर्माण लगायतका कामलाई चाँडो सम्पन्न गर्ने कुरामा पहल गरिने उहाँको भनाइ छ । कार्यक्रम सञ्चालक एवं नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले पोखरा सधैँ ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात् गरी अघि बढिरहेको बताउनुभयो । 

    कार्यक्रमअन्तर्गत आज गोखरापुरका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसँग छलफल एवं अन्तक्र्रिया गर्दै टोली पोखरा फर्कने कार्यक्रम रहेको संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो । पटनाहुँदै वनारस, अयोध्यालगायतका स्थानका सबै प्रवद्र्धनात्मक कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology