Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालस्थित चिनियाँ दूतावासले हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवन बनाएको भन्ने खबरको खण्डन

नेपालस्थित चिनियाँ दूतावासले हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवन बनाएको भन्ने खबरको खण्डन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १४:४९:४२ बजे
  • 4.0K
    SHARES
  • नेपालस्थित चिनियाँ दूतावासले हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवन बनाएको भन्ने खबरको खण्डन
    नेपालस्थित चिनियाँ दूतावासले हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवन बनाएको भन्ने खबरको खण्डन गरेको छ। 


    चिनियाँ दूतावासले मंगलबार राति सार्वजनिक गरेको विज्ञप्तिमा भवन बनाएको क्षेत्र चीनकै रहेको उल्लेख गरेको हो। विज्ञप्तिमा यस विषयमा नेपालले थप प्रमाणित गर्न सक्नेसमेत उल्लेख गरिएको छ। उक्त विज्ञप्तिमा चीन र नेपालबीच कतै सीमा विवाद नभएकोसमेत उल्लेख गरिएको छ। 

    चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्ने उल्लेख गर्दै उक्त विज्ञप्तिमा मिडियामा उल्लेख गरिएका भवन चीन र नेपालको सीमा क्षेत्रको चीनतर्फकै भएको दाबी गरिएको छ। 

    ‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा उल्लेख गरिएका भवन चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ।’ 

    दूतावासले सार्वजनिक गरेको छोटो विज्ञप्तिमा उक्त भवन चीनतर्फकै भूभागमा रहेको प्रमाणित गरिएको उल्लेख गरिएको छ। थप प्रमाणबारे केही कुरा भनिएको छैन। 

    दूतावासले विज्ञप्तिमा यस विषयलाई नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेसमेत उल्लेख गर्दै दुई देशको सीमा विवाद नभएको दाबी गरेको छ। 

    ‘नेपाली पक्षले फेरि प्रमाणित गर्न सक्नेछ’, विज्ञप्तिमा थप भनिएको छ, ‘चीन र नेपालबीच सीमा विवाद छैन।’ 

    दूतावासले जारी गरेको विज्ञप्तिमा दुवै देशले सीमाको सम्बन्धमा सूचना आदानप्रदान गर्दै आएकोसमेत उल्लेख गरिएको छ। ‘दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन्’, विज्ञप्तिमा थप भनिएको छ। 

    नाम्खा गाउँपालिका-६ को लाप्चामा नेपाली सेनाले भोगचलन गरेको क्षेत्रमा चीनले भवन बनाएको खबर सार्वजनिक भएपछि दूतावासले विज्ञप्ति सार्वजनिक गरेको हो। उक्त क्षेत्रामा हुम्लाका प्रमुख जिल्ला अधिकारीसहतिको टोली पुगेर फर्किएको छ। 

    नेपालतर्फ चीनले भवन बनाएको लाप्चामा अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहित तीनै सुरक्षा निकायका टोली फर्किएको छ। चिनियाँँ पक्षसँग छलफलमा दुवै पक्षले आफ्नो भनेर दाबी गरेका थिए। 

    त्यहाँका स्थानीय जनप्रतिनिधिले माथिल्लो तहबाटै सीमा विवाद समाधान गर्नुपर्ने सुझाव सीडीओ र सुरक्षा निकायका प्रमुखको टोलीलाई दिएका छन्। परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बोलेको छैन। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology