Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी त्यो डायरी : जसले हाई प्रोफाइलतर्फ मोड्दैछ अनुसन्धान

नक्कली भुटानी शरणार्थी त्यो डायरी : जसले हाई प्रोफाइलतर्फ मोड्दैछ अनुसन्धान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८० बिहिवार • १२:२३:०२ बजे
  • 1.3K
    SHARES
  • नक्कली भुटानी शरणार्थी त्यो डायरी : जसले हाई प्रोफाइलतर्फ मोड्दैछ अनुसन्धान

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारीहरु भटाभट पक्राउ पर्न थालेका छन् ।

    images

    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान गर्दै जाँदा यस प्रकरणमा सत्ता र शक्तिको भरपुर उपयोग गरेका उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू पनि मुछिएका छन् ।

    यो समाचार तयार पार्दासम्म ९ जना पक्राउ परिसकेका छन् भने २ जनालाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । आजमात्रै पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।


    उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रायमाझी पूर्व उपप्रधानमन्त्री र बहालवाला सांसद हुन् ।त्यस्तै बुधबारमात्रै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र एमाले सचिव टोपबहादुरका छोरा सन्दीपलाई पक्राउ गरेको थियाे ।

    २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा पाण्डे समातिएका हुन् । पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ ।

    यता एमाले सचिव टोपबहादुरका छोरा सन्दीपलाई बुधबार राति बुटवलबाट पक्राउ गरिएको हो । त्यस्तै मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

    पूर्वगृहमन्त्री थापाकै सुरक्षा सल्लाहकार पक्राउ परेलगत्तै थापाको भूमिकामाथिसमेत प्रश्न उठेको छ । थापा गृहमन्त्री हुँदा हाल अख्तियार प्रमुख रहेका प्रेम राई गृहसचिव थिए । उनको भूमिकामथि पनि प्रश्न उठ्न थालेको छ ।

    यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा प्रहरीले राई र पाण्डेलाई पक्राउ गरेको हो । राईले मात्रै ५ करोडभन्दा बढी रकम लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जानकारी दियो । मन्त्रीको सल्लाहकार हुँदा गृह मन्त्रालयभित्र सहजीकरण गरिदिने भन्दै उनले रकम लिएको देखिएको छ ।

    यही प्रकरणमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका स्वकीय सचिव मोरङका केशव दुलाल पनि पक्राउ परेका छन् । ललितपुरका सानु भण्डारी, पाँचथरका टंककुमार गुरूङ, सागर थुलुङ, सन्देश शर्मा पोखरेल राई पनि समातिएका छन् ।

    पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी एवं संगठित अपराधमा अनुसन्धान गरिरहेको छ भने पुर्जी जारी भएकाहरुलाई खोजिरहेको छ ।

    यस प्रकरणमा सत्ता र शक्तिको भरपुर उपयोग गरेका उच्च पदस्थ अधिकारीहरु पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार अहिलेसम्म २१ जना बढीले ठगीको उजुरी दिएका छन् । ठगीकाे उजुरी परेपछि छानविन थालेको प्रहरीले अनुसन्धानको माध्यम एक डायरीलाई बनाएको छ ।

    जुन डायरी प्रहरीले पक्राउ परेका सानु भण्डारीको घरमा फेला पारेको थियो । उक्त डायरीमा रकम लिएका व्यक्तिको विवरणसहित ठगिएको रकमसमेत उल्लेख गरिएको विवरण फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

    प्रहरीले यस प्रकरणमा एउटा गिरोह नै सक्रिय रहेको बताएको छ । यसर्थ लहरो तान्दा पहरो थर्कियाे भनेझैं अनुसन्धान गर्दै जाँदा एकपछि अर्को गर्दै राजनीतिक दलका नेता, प्रशासनिक अधिकारीहरु जोडिनेक्रम जारी रहेकाे ती अधिकारीले बताए ।

  • सम्बन्धित विषय:

  • # मोड्दैछ अनुसन्धान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology