Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले भ्रष्टाचारीलाई ढाकछोप गर्दैन:ओली

एमाले भ्रष्टाचारीलाई ढाकछोप गर्दैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०८० सोमवार • १८:३५:१० बजे
  • 685
    SHARES
  • एमाले भ्रष्टाचारीलाई ढाकछोप गर्दैन:ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि खनिएका छन्। सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वी नेपालमा आफूमाथि भएको ढुंगामुढा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका हुन्।

    images

    ‘मलाई पूर्वमा ढुंगामुढा भयो। प्रचण्डजीले फोन गर्नुभयो। आफ्नै स्वार्थका कुरा गर्नुभयो तर तपाईंमाथि आक्रमण भएछ है भनेर सहानुभूति पनि देखाउनु भएन, त्यसबारे एक शब्द पनि बोल्नुभएन,’ ओली भने,‘शेरबहादुरजीले पनि फोन गर्नुभयो। उहाँले बरू तपाईंमाथि त्यस्तो भएछ है। त्यस्तो नहुनु पर्ने।

    सरकारले यस्ता कुरामा ध्यान दिनुपर्छ भन्नुभयो।’ पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले हिरोइज्म देखाएको र स्टन्टबाजी गर्न खोजेको ओलीले आरोप लगाए। ‘अस्ति मलाई उहाँले भेट्न बोलाउनुभयो। भेटेपछि मिडियामा आएर भन्नुभयो- प्रधानमन्त्रीलाई भ्रष्टाचारीलाई छुटाउनु पर्छ भनेर कसले दबाब दिन सक्छ।

    मानौं कि मैले उहाँलाई दबाब दिएको थिएँ जसरी,’ ‌ओलीले भने,‘त्यसपछि पार्टी कार्यालयमा जाँदा उहाँलाई कार्यकर्ताले दुबोको माला लगाइदिए। बेहुलोजस्तो बनेर उहाँले भन्नुभयो- यो त ट्रेलरमात्र हो, फिलिम देखाउन बाँकी छ।’ ओलीले प्रधानमन्त्री प्रचण्डलाई फिलिम देखाउन पनि चुनौती दिए। ‘अन्त त फिलिम चलिरहेको छ।

    उहाँको हल किन बन्द छ,’ ओलीले भने,‘अहिले संवैधानिक परिषद्को बैठक बस्दैछ। त्यहाँ पनि म गएर उहाँलाई सोध्नेवाला छु- प्रधानमन्त्रीज्यू, फिलिम कहिले चल्छ?’ ओलीले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसलाई जोगाउने र कसलाई फसाउने प्रयासमा रहेको आरोप पनि लगाए।

    नेकपा हुँदा आफूविरूद्ध १९ पेज लामो आरोप पत्र ल्याएका प्रचण्डले अहिले पनि एमालेमाथि प्रहार गरिरहेको उनको तर्क छ। ‘एमाले भ्रष्टाचारीलाई ढाकछोप गर्दैन तर निर्दोषलाई फसाउने र एमालेविरूद्ध षडयन्त्र भए त्यसको मुकाबिला गर्छ,’ ओलीले भने,‘प्रचण्डजी, हिम्मत भए दोषीका विरूद्ध उभिनुस्, प्रतिपक्षीका विरूद्ध होइन।’

    उनले प्रचण्डको छवि कस्तो हो भन्ने दुनियाँलाई थाहा भएको बताए। ‘हामीले नचिन्या मान्छे हो र भन्या उहाँ,’ ओलीले भने।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology