प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेट क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् । साथै उनले सरकारमा जाने आफूहरूको योजना सफल नभए पनि अब सडकबाटै सरकारलाई समर्थन गर्ने बताएका थिए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणुसहित बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् ।
यस प्रकरणमा जोडिएका एमाले सचिव टोपबहादु रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।
पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रविको आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले भ्रष्टाचार मुलुकको साझा दुश्मन भएकाले जसले गरे पनि पार्टीको झण्डा नबोकी सहभागी हुन समर्थकलाई आह्वान गरेका छन् । साथै उनले शरणार्थी प्रकरणमा नाम मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत १२ जना पक्राउ गरेपछि नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु। राम्रो काम जसले गरे पनि सघाउनु पर्छ। देश भर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला । भ्रष्टाचार विरूद्ध एक हौँ । नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ,’ उनले भनेका छन् ।