Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०८० बिहिवार • १०:५५:४७ बजे
  • 271
    SHARES
  • देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

    नेपालकै ठूलो र कोशी प्रदेशकै नमुना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।

    images

    पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए ।

    इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ। उनले परियोजना निर्माणमा ४० करोड लगानी भइसकेको बताए ।

    ‘यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ’, उनले भने, ‘धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ ।’ झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड सेयरदाताहरूबाट लगानी गरिएको बताए । सो परियोजनाको कूल लागत ७९ करोड रहने उनको भनाइ छ ।

    उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए । परियोजनाका मुख्य इन्जिनियर केशव चापागाईंले २१ हजार आठ सय ४० थान प्यानल स्टेन जडान भइसकेको बताए । हाल स्थापना गरिएका प्यानल स्टेनमा आठ सय १९ वटा सोलर प्यानल टेबल जडान गरिने उनको भनाइ छ ।

    ‘कुनै ठूला टेबल हुन्छन् कुनै साना’, उनले भने, ‘कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ ।’ बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन् । उनले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

    ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताइन्। सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ। पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उनले बताइन्। सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी दुई वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ।

    परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ। आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताए। उनले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट सात रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिए। झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology