नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देश आर्थिक संकटमा फसेको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै अध्यक्ष ओलीले एमालेको सरकार विस्थापित गर्दा देश संकटमा फसेको दाबी गरेका हुन् ।
‘एमालेलाई सरकारबाट विस्थापन गरेदेखि नै देशमा आर्थिक संकट आएको छ । हाम्रो सरकारको विस्थापन गर्नु नै अर्थतन्त्रलाई संकटमा पु¥याउनुको कारण हो,’ उनले भने । अध्यक्ष ओलीले देशको अर्थतन्त्रलाई ध्वस्त पार्न प्रचण्ड नेतृत्वको अहिलेको सरकार आएको बताए ।
उनले भने, ‘अर्थतन्त्रलाई ध्वस्त पार्न, देशलाई ओरालोतिर लान यो सरकार आएको हो ? यो सरकार दुःखको कारण भएको छ । यो सरकार कारण जनताले सास्ती पाएका छन् ।’
नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न एमालेको माग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ ।
आज (आइतबार)को प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् ।
सरकारले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।
छलफलको सुरुमै पहिलो वक्ताको रुपमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको बताए ।
न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे । सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको आरोप लगाए ।