Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८० शुक्रवार • ११:५०:४२ बजे
  • 259
    SHARES
  • जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

    जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो ।

    images

    “जङ्गली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन् ।” जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उहाँले बताउनुभयो ।

    आर्थिक वर्ष २०७९÷८० को नगरपालिकाको हिउँदे अधिवेशनमा  सडकबत्ती जडान शीर्षकमा रु १० लाख बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार एक सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको बताइएको छ ।

     नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व–पश्चिम राजमार्गमा ६०, वडा नं १ मा १०, वडा नं २ मा सात, वडा नं ३ मा सात, वडा नं ४ मा नौ, वडा नं ६ मा आठ, वडा नं ७ मा १०, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा आठ, वडा नं ११ मा नौ र वडा नं १२ मा १० थान सडकबत्ती जडान गरिएको छ ।

    त्यसैगरी नगरपालिकाबाट आवश्यकता भएका अन्य ठाउँमा थप बत्ती जडान गर्न १० वटा सडकबत्ती जडानको व्यवस्था गरिएको छ । जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्र र पूर्व–पश्चिम राजमार्गलाई लक्ष्य गरी सडकबत्ती जडानको काम भइरहेको नगरउपप्रमुख कल्पना पन्तले बताउनुभयो ।

    “राजमार्ग क्षेत्रका नगरपालिकाका मुख्य बजार क्षेत्रमा अवान्छित गतिविधि रोक्न पनि सडकबत्तीले सघाउ पुर्‍याउँछ”, उहाँले भन्नुभयो, “रातिका बेला सर्वसाधारणलाई आवतजावत गर्न सघाउ पुग्छ, उज्यालो हुने ठाउँमा जङ्गली हात्ती प्रवेश नगर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले सडकबत्ती जडान गरेका छौँ ।”

    वडा कार्यालयमार्फत हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जङ्गली जनावरको आतङ्क रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ ।  प्रत्येक वर्ष नगरपालिकाले सडकबत्ती जडान गर्दै आए पनि आवश्यक मर्मत नगर्दा अलपत्र पर्ने गरेको स्थानीयवासीको गुनासो थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology