प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ओलीले मध्याह्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् । समान्यतः मन्त्रिपरिषद बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ । तर, आइतबार अचानक बैठक बोलाइनुलाई धेरैले मन्त्रिपरिषद पुनर्गठनसँग जोडेर हेरेका छन् । नेकपाको केही दिनअघि सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको निर्णय गरेको थियो ।
बैठकको निर्णयअनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच त्यसरबारे लगातार छलफल हुँदै आएको छ । स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनको मोडालिटीबारे करिब सहमति भएको छ । यद्यपि सबै मन्त्रीलाई बिदाई गरेर नयाँ टिम बनाउने वा केहीलाई बिदा दिएर खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गरी केही नयाँ अनुहारलाई अवसर दिने भन्नेमा कुरा मिल्न बाँकी छ ।
बालुवाटारमा केही दिनयता प्रधानमन्त्रीले सबै मन्त्रीलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिएर बिदाई गर्ने तयारी गरिरहेको चर्चा चल्दै आएको छ । ओलीले अघिल्लो मन्त्रिपरिषद बैठकमा पार्टी निर्णयअनुसार केही मन्त्रीलाई बिदाई गर्नुपर्ने बाध्यतामा आफू रहेको बताएका थिए ।
उनले त्यसलाई अन्यथाका रुपमा नबुझिदिन पनि मन्त्रीहरुलाई भनेका थिए । सबैलाई बिदा गरेर पुराना केहीलाई फेरि नियुक्ति दिने कि आधाजसोलाई बिदा गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।