Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ : उपमहासचिव खरे

नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ : उपमहासचिव खरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०८० मंगलवार • १७:००:१६ बजे
  • 523
    SHARES
  • नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ : उपमहासचिव खरे
    संयुक्त राष्ट्रसङ्घ, मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ । 

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनमा भएको सहभागिता, अभ्यास र प्राप्त नतिजाले त्यसलाई पुष्टि गरिरहेको बताउनुभयो ।

    संयुक्त राष्ट्रसङ्घ, सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठीमा भाग लिने क्रममा उपमहासचिव खरे यहाँ आउनुभएको छ ।

    उपमहासचिव खरेले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा परिचालित नेपाली शान्ति सेनाले नवीनतम सूचना प्रविधिको प्रयोग गरिरहेकामा प्रशंसा गर्दै शान्ति सेनामा डिजिटल रुपान्तरणका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली सेनाले मिसनअन्तर्गत रही शान्ति सुरक्षा कायम गर्न असरदाररुपमा डिजिटल प्रविधि र उपकरण प्रयोग गरेकामा खुसी पनि व्यक्त गर्नुभयो ।

    शान्ति स्थापनार्थ खटिएका सुरक्षाकर्मीलाई आम नागरिकको सुरक्षा मुख्य चासो रहने बताउँदै उपमहासचिव खरेले शान्तिस्थापना कार्यमा आन्तरिकरुपमा प्रभावकारीरुपमा सञ्चालन हुने सञ्चार प्रद्धतिका लागि थप गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, त्यस पद्धतिअन्तर्गत  युएचएफ, भिएचएफ, रेडियो, इन्टरनेट र अरू सबै प्रकारका सञ्चार प्रयोग हुनेछ ।

    उहाँले शान्ति स्थापना कार्यमा खटिने जनशक्तिले भोग्नु परेका अप्ठेराहरुलाई प्रविधिको प्रयोगले कसरी कमिल्याउन सकिन्छ भन्नेमा गोष्ठि महत्वपूर्ण साबित हुने उल्लेख गर्नुभयो । उपमहासचिव खरेले एकीकृत तालिम तथा क्षमता अभिवृद्धि, टेलिमेडिसियन, शान्ति स्थापना कार्य सञ्चालनमा सूचनाको प्रयोग अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।

    उहाँले शान्ति सैनिकका सुरक्षाका लागि अवलम्बन गरिएका विषयहरुले उनीहरुको जीवनस्तरमा सुधार ल्याउनाका साथै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो । उपमहासचिव खरेले धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो  तथा धेरै महिला सैनिक पठाउने मुलुकमा नेपाल पहिलो भएको रहेको भनी नेपालको प्रशंसा गर्नुभयो । 

    सो अवसरमा सहायक महासचिवद्वय बेर्नार्डाे र मार्था हेलेना लोपेज्, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, नेपाली सेना शान्ति कार्य निर्देशक सन्तोषबल्लभ पौडेललगायतले शान्ति सैनिकले सूचना प्रविधिको क्षेत्रमा प्रयोग गरिरहेको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

  • सम्बन्धित विषय:

  • # उपमहासचिव खरे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology