Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चाको घोषणा आज

समाजवादी मोर्चाको घोषणा आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०८० सोमवार • ११:०३:३१ बजे
  • 514
    SHARES
  • समाजवादी मोर्चाको घोषणा आज

    लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो ।

    images

    सोमबार राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ । समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।

    मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ । मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ । मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने पनि मस्यौदामा उल्लेख छ ।

    मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तर्क्रिया, आमसभा तथा आवश्यकताअनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ । त्यस्तै मोर्चालाई प्रदेश तथा जिल्ला हुँदै स्थानीय स्तरमै विस्तार गरेर लैजाने प्रस्ताव गरिएको छ ।

    मोर्चा घोषणाका लागि कार्यदलले प्रस्ताव गरेको घोषणापत्रमा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्ष सहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति गठन गर्ने प्रस्ताव गरिएको छ । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सहभागी गराउन छलफल जारी रहेको छ । समाजवादी मोर्चामा भट्टराईलाई पनि सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुबैतर्फका नेताहरू जोडतोडका साथ लागेका छन् ।

    यदि मोर्चामा भट्टराईलाई नसमेटिए माओवादीसँग एकता गरेर भए पनि समेटिनुपर्ने माओवादीका अर्का एक नेताले बताए । यस्तै नेपाल समाजवादी पार्टीका नेताहरूले पनि माओवादी केन्द्रका नेताहरूलाई भेटेर एकता गरेरै भए पनि समेटिनुपर्ने दबाब दिएका छन् । यसबारेमा स्वयम् भट्टराईले भने मुख खोलेका छैनन् । गत असार १ गते भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समाजवादी मोर्चामा समेटिने बताएका थिए । प्रचण्डलाई भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताएका थिए ।

    ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसी, लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो’ बाबुरामले ट्वीटरमा लेखेका थिए, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’

  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology