Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीको षड्यन्त्रमाथि बज्रपात,निर्णायक शक्ति बन्यो समाजवादी मोर्चा

ओलीको षड्यन्त्रमाथि बज्रपात,निर्णायक शक्ति बन्यो समाजवादी मोर्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८० मंगलवार • १०:०८:४३ बजे
  • 778
    SHARES
  • ओलीको षड्यन्त्रमाथि बज्रपात,निर्णायक शक्ति बन्यो समाजवादी मोर्चा

    संघीयता र गणतन्त्रको रक्षा गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्न समाजवादी मोर्चा गठन भएको छ ।

    images

    लामो छलफलपछि नीतिगत प्रतिवद्धतासहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी मोर्चामा आवद्ध भएका हुन् । मोर्चा घोषणाबाट प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झस्केका छन् ।

    २०७४ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने घोषणा गरिएको थियो । २०७४ सालको प्रदेश र प्रतिनिधि सभामा यी दुई कम्युनिष्ट पार्टी भविश्यमा पार्टी एकताको प्रतिवद्धतासहित निर्वाचनमा होमिएका थिए ।


    ०७४ सालको निर्वाचनमा दुई कम्युनिष्ट पार्टीले करिव दुई्तिहाइ मत ल्याएका थिए । तर, ओलीले गद्धारी गरेर २०७७ पुस ५ गते प्रतिनिधि सभा भंग गरिदिए । सर्वोच्च अदालत प्रयोग गरेर माओवादी र एमाले छुट्याइदिए । त्यसबाट माधवकुमार नेपाले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरे । यदि, माओवादीसँग गरिएको प्रतिवद्धता ओलीले नतोडेको भए मोर्चा आवश्यक हुने थिएन ।

    तर, ओली निरन्तर संसद विघटनको षडयन्त्रमा लागेको हुँदा राजनीतिक स्थिरता र विकासका लागि मोर्चा आवश्यक भएको हो । ओलीले सुरुमा पाँचदलीय गठबन्धन भत्काउन पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे । प्रचण्डसँग कुरा नमिलेपछि ओलीले उपेन्द्र यादवलाई फकाउन खोजेका थिए । मोर्चा गठनले ओलीको षडयन्त्रमाथि ठूलै बज्रपात भएको राजनीतिक विश्लेषकहरूको ठहर छ ।

    सोमबार राष्ट्रिय सभागृह कार्यक्रम गरी मोर्चा घोषणा गरियो । मुलुकमा राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौती सामना गर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यक भएको छ ।

    ‘…संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने उद्देश्यले समाजवादी मोर्चा, नेपालगठन गर्न सहमत भएका छौं,’ दस्तावेजको प्रस्तावनामा भनिएको छ ।

    मोर्चाको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले आलोपालो प्रणालीमा गर्ने छन् । मोर्चामा आवद्ध चार दलले १५ बुँदे प्रतिबद्धता जनाएका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको मुख्य उद्देश्य छ ।

    मोर्चाको संयोजनका लागि केन्द्रमा चारै दलका प्रमुखसहित पार्टीका शीर्ष नेता सम्मिलित संयोजन समिति रहनेछ । सचिवालय भने प्रत्येक दलबाट एक–एक नेता रहनेगरी चार सदस्यीय बनेको छ ।

    हाललाई केन्द्रमा मात्रै संयन्त्र रहनेछ भने कार्यविधि बनाएर प्रदेश र स्थानीय तहसम्म संयन्त्र गठन गर्ने तयारी छ । राजनीतिक रूपमा नीति तथा कार्यक्रम र संगठनात्मक रूपमा कार्यविधि र आचारसंहिता छिट्टै बनाउने तयारी छ ।

    संसदीय अंकगणितका आधारमा मोर्चाले हालको सत्तागठबन्धन निर्माण हुँदा भएको सहमति कार्यान्वयनमा जोड दिनेछ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सरकारको नेतृत्वको विषयमा सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले दुई, एकीकृत समाजवादीका अध्यक्ष नेपालले एक र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति छ ।

    समाजवादउन्मुख कार्यदिशा बोकेका पार्टीहरू एकताबद्ध हुँदै समाजवादको लक्ष्य प्राप्त गर्नु मोर्चाको मुख्य लक्ष्य छ । हालसम्म प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानअनुसार अगाडि बढ्ने, राष्ट्रिय हितको संरक्षण गर्ने, देशमा विद्यमान आर्थिक–सामाजिक समस्या समाधान गर्ने र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समृद्धिमा जाने लक्ष्य मोर्चाले लिएको छ ।

    लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, समृद्धि र समतामूलक समाज निर्माण गर्ने लक्ष्य पनि निर्धारण गरिएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, लोकतन्त्र, संविधानको रक्षा, विकास र परिमार्जन, आर्थिक, सामाजिक रूपान्तरण लगायतका विषय प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरूलाई विकास गर्दै जाने र देशलाई सम्पन्नतातर्फ लाने मार्गचित्र मोर्चाको छ ।

    साझा सोच र प्रयासको रूपमा अगाडि बढ्न लागेको मोर्चामा आवद्ध नेताहरूले बताएका छन् । वस्तुस्थिति, जिम्मेवारीबोध र चेतनाको उपजको अभ्यासको रूपमा मोर्चा बनेको बताइएको छ । मोर्चामा इमानदार कम्युनिस्ट, देशभक्त र प्रगतिशील समाजवादी शक्ति आबद्ध हुन सक्ने नेताहरूले बताएका छन् ।

    ५ सदस्यीय प्रतिनिधिमा ५४ सिटसहित समाजवादी मोर्चा निर्णायक शक्ति बनेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ (एक निलम्बन), एमालेका ७९ (दुई निलम्बन), माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार, जनमोर्चा र नेमकिपा एक–एक र तीनजना स्वतन्त्र सांसद छन् । मोर्चामा आवद्ध विप्लव नेतृत्वको नेकपा भने संसदमा छैन् ।

    मोर्चा गठनले बजेट फेल गराएर प्रचण्डलाई विस्थापित गर्ने ओलीको षडयन्त्र विफल हुने देखिएको छ । ओली जसरी भएपनि प्रचण्डलाई विस्थापित गर्न चाहन्छन् । त्यसका लागि ओलीले कांग्रेसका देउवा विरोधीलाई पनि उचालिरहेका छन् भने, कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई बाहिरै राखेर नयाँ सरकार गठनको तानाबाना बुनिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology