नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि ‘मिल्ने वा निल्ने’ नीति लिइरहेको आरोप लगाएका छन्।
आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै रिमालले ६४ सालतिर प्रचण्डले नारायणकाजी श्रेष्ठको र सो सरहका स–साना पार्टी निलेको र नमिल्ने तथा ननिलिइएकाविरुद्ध उपद्रो मच्चाएको भन्दै अहिलेको समाजवादी मोर्चा सोही नीतिअनुरूप बनेको दाबी गरे ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै रिमालले प्रचण्डद्वारा निलिन तयार एसका अध्यक्ष र समर्थकहरूले निलिनु अघिको अलिक घुमाउरो यात्रा तय गरेको टिप्पणी गरेका छन्।
उनले समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ शुरु भइसकेको टिप्पणी गरेका छन्। प्रचण्डले एकै ठाउँमा रहेकाहरू विपरीत दिशामा उभिएर चर्का प्रतिस्पर्धी बनुन् र तिनीहरूलाई जोड्ने फ्याक्टर आफैँ हुन पाऊँ भन्ने मनस्थितिमा रहने आरोप लगाए।
मिल्ने या निल्ने !
चौसठ्ठी सालतिर माओवादी अध्यक्ष प्रचण्डको एउटा भनाइ चर्चित थियो– “मिल्ने या निल्ने !” यो भनाई एमाले र अरु स–साना बाम समूह लक्षित थियो । त्यतिखेर निलिन तयार नारायणकाजीजीको पार्टी र सो सरहका स–साना ग्रुपलाई निलियो । नमिल्ने र ननिलिइएका बिरुद्ध उपद्रो मच्चाइयो।
हिजो एउटा मोर्चा बनेछ । प्रचण्डजीको आशय पहिलेजस्तै आयो– ०७५ सालको बाटोबाट हैन, यो बाटोबाट मिल्ने। मोर्चामा रहेकाहरु एउटै गठबन्धनमा छन् । मोर्चा, गठबन्धमा रहेका अरु कसैका बिरद्ध हो कि भन्ने प्रश्नमा “गठबन्धनका सहयात्री बिरुद्ध हैन” भनिएको छ । अझ स्पष्ट पार्दै “यो कसैका बिरुद्ध पनि हैन” भनिएको रहेछ। बिरुद्धमा नभए पक्षमा त हुनुपर्ने ! तर मोर्चामा आउन मरिहत्ते गर्ने बाबुरामहरु आउट हुनुहुन्छ, अर्थात् उहाँहरु ‘कसैकसैको’ चाँहि पक्षमा हुनुहुन्न ।
पार्टी भित्र होस् वा बाहिर, प्रचण्डजी सधैं एउटै प्रयासमा रहेको देखिन्छ– एकै ठाउँमा रहेकाहरु विपरीत दिशामा उभिएर चर्का प्रतिस्पर्धी बनुन् । तिनीहरु किचकिच गरिरहुन् र तिनीहरुलाई जोड्ने ‘फ्याक्टर’ चाँहि आफैं हुन पाउँ ! पार्टीभित्र होस् वा सरकारमा “प्रचण्ड औचित्य” यसैगरी स्थापित छ । त्यसैले होला मोर्चा गठनसँगै ‘किचकिच’को पनि विजारोपण भइसकेको देखिन्छ । अब के होला, त्यो भविष्यले बताउला । रह्यो नेकपा (एस)– त्यहाँभित्र रहेका ‘निलिन नचाहने’हरु अध्यक्ष माधव नेपालका “समस्या” हुन् । त्यसैले, प्रचण्डद्वारा निलिन तयार एसका अध्यक्ष र समर्थकहरुले निलिनु अघिको अलिक घुमाउरो यात्रा तय गरेको देखिन्छ ।