Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वागनर समूहद्वारा रुसको महत्वपूर्ण सहर कब्जा, सैनिक ‘कू’को संकेत

वागनर समूहद्वारा रुसको महत्वपूर्ण सहर कब्जा, सैनिक ‘कू’को संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०८० शनिवार • २१:११:०१ बजे
  • 538
    SHARES
  • वागनर समूहद्वारा रुसको महत्वपूर्ण सहर कब्जा, सैनिक ‘कू’को संकेत

    युक्रेनविरुद्ध परिचालित रुसको निजी सैन्य समूह वागनर समूहले रुसको महत्वपूर्ण सहर रोस्तोभ-अन-डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको छ । वागनरको पछिल्लो गतिविधिले रुसी सैन्य संरचनामा संकट उत्पन्न भएको छ भने कतिपयले सैन्य ‘कू’को संकेत भन्दै टिप्पणी गरेका छन् ।

    images

    उक्त भाडाका सैनिकहरूको समूहका प्रमुख एगबेनी प्रिगोझिनले हालै रुसी सेनाविरुद्ध दिएको अभिव्यक्तिले नयाँ तरंग पैदा गरिदिएको छ । बीबीसी न्युजले उल्लेख गरेअनुसार युक्रेन युद्धमा रुसले सैन्य र बन्दोबस्तका लागि मुकाम बनाएको यो सहर युक्रेनबाट १०० किलोमिटरको दुरीमा छ ।

    बीबीसी न्यूज रसियनका अनुसार वाग्नरले रोस्तोभ र मस्कोको बीचमा पर्ने भरोनेस सहरका सैन्य संरचनाहरू पनि कब्जामा लिएको छ भने त्यहाँका बासिन्दालाई घरभित्रै रहन भनिएको छ । समाचारहरुमा बताइएअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारबाही गर्ने वाचा गरेका छन् । प्रिगोजिनले भने रुसका रक्षा मन्त्रीसँग भेट नहुँदासम्म आफ्नो फौज निरन्तर मस्कोतर्फ अघि बढ्ने बताएका छन् ।

    यसअघि वाग्नर प्रमुखले त्यहाँको सैन्य नेतृत्व हटाउन ‘जुनसुकै हदमा जाने’ चेतावनी दिएका थिए । र उनलाई त्यसअघि क्रेमलिनले ‘सशस्त्र विद्रोह’को आरोप लगाएको थियो । रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुखले यसअघि त्यहाँको सैन्य नेतृत्व हटाउन ‘जुनसुकै हदमा जाने’ चेतावनी दिएका थिए ।

    रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहको नाम नलिइ आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने काम भएको बताएका छन् । बीबीसीका अनुसार अहिले राजधानी मस्को र अन्य धेरै क्षेत्रहरूमा आतंकवाद नियन्त्रणसम्बन्धी शासन व्यवस्था लागु भएको पुटिनले बताएका छन् । यसअघि वाग्नर प्रमुख येभ्गेनी प्रिगोजिनले उनका लडाकुहरू युक्रेनको सीमाबाट फर्किएर रुसी सहर रोस्तोभ–अन–डन प्रवेश गरेको बताएका थिए ।

    उनले आफ्ना सेनाले उनीहरूलाई रोक्न खोज्ने जो कोहीलाई ध्वस्त पार्ने चेतावनीसमेत दिएका छन् । स्थानीय गभर्नरले आफ्ना सर्वसाधारणलाई धैर्य गर्न र घरभित्रै बस्न आह्वान गरेका छन् । बीबीसीका अनुसार प्रिगोजिनले उनको सेनाले ‘नागरिकहरूको गाडीको लस्करमाथि आक्रमण गर्ने’ रुसी सैन्य हेलिकप्टरलाई खसालेको दाबी गरेका छन् । तर, घटना भएको स्थानबारे भने खुलाएका छैनन् ।

    वाग्नर रुसको सरकारी सेनासँग मिलेर युक्रेनविरुद्ध लडिरहेको निजी सैनिकहरूको समूह हो । हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको छ । शुक्रबार ६२ वर्षीय वाग्नर प्रमुखले रुसको सरकारी सेनाले आफ्ना सेनाहरूमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाए । घटनामा जिम्मेवारलाई सजाय दिलाइने उनले वाचा गरेका छन् । यस्तो आक्रमणबारे उनले तथ्यहरू भने उपलब्ध नगराएको बताइएको छ । रुसी अधिकारीहरूले भने आक्रमण भएको अस्वीकार गरेका छन् र उनलाई तत्काल आफ्ना ‘गैर कानुनी कदमहरू’ रोक्न माग गरेका छन् ।

    प्रिगोजिनले रुसी सैन्य नेतृत्वमा रहेका दुष्टहरूलाई रोक्नुपर्ने बताउँदै ‘न्यायका लागि अभियान’ सुरु गर्ने वाचा गरेका छन् । ‘हाम्रा लडाकुहरूलाई मार्नेहरू र (युक्रेनको युद्धमा) हजारौँ रुसी सैनिकको ज्यान लिने सबैलाई सजाय दिइनेछ’ उनले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेको अडिओ सन्देशमा भनेका छन् ।

    ‘म तपाईँलाई प्रतिरोधमा नआउन आग्रह गर्छु । जो आउँछ उसलाई खतराको रूपमा हेरिन्छ र मारिन्छ । हामी हिँड्ने बाटोको जुनसुकै सुरक्षा जाँच चौकी र विमानस्थलमा त्यस्तो हुनसक्छ ।’ उनले यसो पनि भनेका छन्, ‘यो सैन्य विद्रोह होइन, तर न्यायको निम्ति आयोजित ¥याली हो । हाम्रो अभियानले सेनालाई कुनै पनि तरिकाले हस्तक्षेप गर्दैन ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस स्थितिको बारेमा चौबीसै घण्टा जानकारी लिइरहेको उनका प्रवक्ताले बताएका छन् ।

    शुक्रबार राति मस्कोका सरकारी भवनहरू र यातायात सुविधाहरूसहित प्रमुख स्थानहरूमा सुरक्षा बढाइएको रुसको सरकारी समाचार संस्था टीएएसएसले जनाएको छ । रुसको लिपेट्स्क क्षेत्रका गभर्नरले त्यहाँका बासिन्दाहरूलाई दक्षिणतर्फ यात्रा नगर्न आग्रह गरेका छन् । लिपेट्स्क, युक्रेनी सीमाबाट करिब २८० किलोमिटर उत्तर–पूर्वमा र रोस्टोभबाट करिब ५०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । इगोर आर्टामोनोभले टेलिग्राममार्फत त्यस क्षेत्रमा सुरक्षा प्रबन्ध कडा बनाइएको र संवेदनशील पूर्वाधारहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको जानकारी दिए ।

    यस्तै, युक्रेनले रुसको पछिल्लो घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । शुक्रबार अबेर ट्विट गर्दै युक्रेनी रक्षा मन्त्रालयले भनेको छ, ‘हामीले हेरिरहेका छौँ ।’ ह्वाइट हाउसले स्थितिको निगरानी गरिरहेको र अमेरिकी सहयोगीहरूसँग परामर्श गर्ने जनाएको छ । विगतमा प्रिगोजिनले प्रशंसा गरेका, युक्रेनस्थित रुसी सेनाका उपप्रमुख जनरल सर्गेई सुरोभिकिनले वाग्नरलाई उसको ‘अभियान रोक्न र लडाकुहरूलाई आफ्नो शिविरहरूमा फर्काउन’ आग्रह गरेका छन् ।

    ‘हामी एउटै रगतका हौँ, हामी योद्धा हौँ’ उनले भिडिओ सन्देशमार्फत् भनेका छन्, ‘हाम्रो देश अप्ठ्यारोमा परेको बेला तपाईँले दुस्मनलाई स्थिति सहज बनाइदिनु हुँदैन ।’ रुसी रक्षामन्त्री सर्गेई शोइगुले वाग्नरलाई पर्याप्त हतियार उपलब्ध नगराएको आरोप छ । अर्का वरिष्ठ कमान्डर, लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेभले वाग्नर प्रमुखको कदम ‘देश र राष्ट्रपतिविरुद्ध पछाडिबाट छुरा प्रहार गर्नु’ सरह भएको बताएका छन् ।

    रुसको सुरक्षा सेवासम्बन्धी निकाय एफएसबीले प्रिगोजिनविरुद्ध ‘सशस्त्र विद्रोहको आह्वान गर्दै’ रुसमा गृहयुद्ध सुरु गर्ने प्रयास गरेको आरोपमा फौजदारी मुद्दा लगाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । एफएसबीले वाग्नरका लडाकुहरूलाई उनको निर्देशन अवज्ञा गर्न र उनको गिरफ्तारीका निम्ति कदम चाल्न आह्वान गरेको छ ।

    रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाग्नर शिविरमा रुसी हमलाबारे ‘सामाजिक सञ्जालमा प्रिगोजिनले फैलाएको सबै विवरण’ सत्य नभएको र ती सूचना उत्तेजक भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # सैनिक ‘कू’को संकेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology