साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो ।
कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले खरिद गर्ने चिनीको गुणस्तर ठीक भएको प्रमाणपत्र आइतबार साँझ आइसकेकाले अब केही अवरोध नभए सात÷आठ दिनभित्रै चिनी नेपाल आइपुग्ने जानकारी दिए । गुणस्तरको प्रतिवेदन आउन ढिला हुँदा चिनी आउने समय पछि सरेको हो । अरू बेला अवस्थामा गुणस्तर परीक्षणका लागि नमुना पेस गरेको चार/पाँच दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणपत्र आउने गरेकामा यसपटक १० दिन लागेको उनले बताए ।
उनले भने, ‘चिनी खरिदका लागि गर्नुपर्ने अन्तिम प्रक्रिया बैङ्किङ प्रक्रिया (एलसी खोल्ने) आज÷भोलि नै सुरु गर्छौं, अब ढिला हुनुपर्ने कारण छैन ।’ विदेशबाट खाद्यवस्तु खरिद गर्दा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशालामा नमुना परीक्षण गर्दा गुणस्तर ठीक भएको प्रमाणपत्र अनिवार्य रूपमा भन्सारमा बुझाउनुपर्ने नियम हुन्छ । सोहीबमोजिम नेपालमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालाले मात्रै यस प्रकारको प्रमाणपत्र दिनसक्छ । सो विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले विदेशबाट खाद्यवस्तु आयात गर्नुपरेमा आवश्यक कागजातसहित प्रमाणपत्रका लागि गुणस्तर परीक्षणको नमुना पेस गरेको बढीमा चार दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने गरेको जानकारी दिए ।
उनले प्रमाणपत्रका लागि पेस गर्नुपर्ने आवश्यक कागजात भएको खण्डमा चार दिनभन्दा बढी नलाग्ने दाबी गरे । यदि १० दिन लागेको हो भने कागजात अपुग भएर हुनसक्ने उनको भनाइ छ । कर्पोरेसनका अनुसार हाल कर्पोरेसनसँग एक/डेढ सय मेट्रिक टनको हाराहारीमा चिनी मौज्दात छ । हाल आफ्ना बिक्री केन्द्र र डिपोमार्फतबाहेक अन्य ठाउँमा कर्पोरेसनको चिनी बिक्री भएको छैन । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।