Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन’

‘रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १३:१६:१० बजे
  • 1.1K
    SHARES
  • ‘रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन’

    कमला नदीमा पानीको सतह कमहुँदा सिरहा र धनुषाका किसानलाई सिँचाइ गर्न समस्या भएको छ ।

    images

    कमला नदीमा पानीको सतह घट्दा कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको कमला सिँचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन । “ धान रोपाइँ गर्न ढिलाइ भइसक्यो, तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन”, धनुषाका किसान अमोद यादव भन्छन्, “वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिँचाइ गरेर धान रोपाइँ गर्यौँ ।” तर अहिले कमला नदीमा पानीको सतह घटेर खेतसम्म पानी पर्याप्त पुग्नै सकेको छैन, यसका कारण खेती गर्न ठूलो समस्या भएको उनको भनाइ छ ।

    “पहिला–पहिला असार, साउन र भदौ महिनामा कमला नदीमा ठूलो बाढी नै आउथ्यो”, सिरहाको औरहीका किसान राघव साह भन्छन्, “हामी कमला सिँचाइको नहरबाटै सिँचाइ गरेर धान रोपाइँ गर्दथ्यौँ, तर पछिल्लो केही वर्षदेखि कमला नदीमा पानीको बहाव घट्दै गएको छ, नहरमा पनि चाहिएको जति पानी आउँदैन ।

    पानीकै आभावमा अघिल्लो वर्ष पनि हामीले खडेरीको मार खेप्यौँ, यसपालि त झन् ठूलो समस्या खेप्नुपर्ने देखिन्छ”, उनको दुःखेसो थियो । धानखेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन् ।

    “एकातिर लामो समयदेखि वर्षा भएको छैन, अर्कातिर नहरमा चाहे जति पानी आएको छैन”, राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घका अध्यक्षसमेत रहेका धनुषाका किसान गजाधर यादव भन्छन्, “यस्तो अवस्थामा किसानले कसरी सिँचाइ गर्छ र धान रोपाइँ गर्छ रु यो ठूलो प्रश्न र चिन्ताको विषय बनेको छ ।”

    विश्वव्यापीरूपमा देखिएको जलवायु परिवर्तनको प्रभावका कारण इतिहासमै पहिलोपटक यस वर्ष कम वर्षा भएर नदीमा पानीको बहाव कम हुँदै गएको उनको कथन छ । “कमला नदीमा पानीको बहाव कम हुनु किसानका लागि असाध्यै चिन्ताको कुरा हो”, उनी भन्छन् “सिँचाइका लागि कमला नदीमा पर्याप्त पानी आवश्यक छ, वर्षैभरि कमला नदीमा पानी ल्याउन तत्काल सुनकोशी–कमला डाइभर्सनको काम तत्काल अघि बढाउनुबाहेकको विकल्प छैन ।”

    सुनकोशीबाट कमला नदीमा पानी झार्न सकिए वर्षभरि कमला नदीमा पानी आउँछ, यसबाट सिरहा, धनुषा र सप्तरीमा सिँचाइ सुविधा पुग्ने उनको दाबी छ । अहिले कमला नदीमा पानीको सतह कम भएर सिँचाइ नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ । कमला सिँचाइ नहर प्रणालीमा कम पानी आउँदा किसानबीच पहिला म खेतमा पानी हाल्छु त पहिला म हाल्छु भन्दै झडप र कुटपिटसमेत हुन थालेपछि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले आलोपालो विधिबाट किसानको खेतमा पानी पठाउन थालेको छ ।

    “पानीका विषयमा कतिपय ठाउँमा किसानबीच विवाद हुने र कुटपिटसमेत हुने गरेको पाइएकाले अहिले आलोपालो गरेर पानी पठाउन थालेका छौँ”, कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले भने, “अहिले पानीको माग धेरै छ, तर नहरमा कम पानी आइरहेको छ, यस्तो अवस्थामा आलोपालोबाट पानी नपठाउनेबाहेक हामीसँग कुनै विकल्प छैन, अहिले आलोपालो गर्दा पुछारका किसानले पनि पानी पाइरहेका छन्, नत्र पहिला मुहानका किसानले मात्र पानी पाउने र पुछारका किसानले पानी नै नपाउने अवस्था थियो ।”

    “साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ तर अहिले नदीमा पानी नै छैन”, प्रमुख यादव भन्छन्, “पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।” नहरमा पानी कम आउँदा पनि अचेल रातदिन खटेर किसानको खेतमा पानी पुर्याइरहेको प्रमुख यादव बताउछन् ।

    निर्माण गरिएको कमला सिँचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएको छ । विगतका वर्षमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरिएको प्रमुख यादवको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology