नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एक हप्तादेखि मन्त्रिमण्डल पुनर्गठनमा निरन्तर छलफल भएको छ । मंगलबार पनि घन्टौँसम्म मापदण्डका विषयमा छलफल भएको छ । अहिलेसम्म व्यक्तिका विषयमा छलफल प्रवेश गरेको छैन ।
नेताहरुसँग प्रचण्डले अहिलेसम्म मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डकै विषयमा सहमति नजुटेको र व्यक्तिका विषयमा त झनै प्रवेश नै नगरेको बताए । ती नेताका अनुसार प्रचण्डले भने, 'व्यक्तिका विषयमा छलफल प्रवेश नै गरेको छैन । मैले सुनेको सरकारकै तलब खाने साथीहरुलाई लेख्न लगाइएको भन्ने आएको छ । नभएको कुरा लेख्नेलाई लेख्न दिनुपर्छ । आफैँ नाङ्गिन्छन् ।'
प्रचण्डले बिग्रहबाट नयाँ ठाउँमा प्रवेश गर्ने अवस्थामा पार्टीमा फेरि गुटबन्दी गर्न खोजिएको पनि बताए । उनले भने, 'आफ्नो पक्षमा प्रचार गरेर पार्टीमा गुटबन्दीको अभ्यास फेरि सुरु भयो । जिम्मेवार व्यक्तिको व्यवहार भएन । मैले पनि साथीहरुलाई सबै कुरा भन्ने हो भने के हुन्छ ? पार्टी एकता बच्छ ? त्यसैले यस्ता कुराको पछि नलाग्नुस् । पार्टीलाई अगाडि बढाउनु पर्छ ।'
स्थायी कमिटी सदस्य भन्छन्, 'प्रधानमन्त्री ज्यूले व्यक्ति व्यक्ति भिडाउनेगरी काम फेरि थाल्नु भयो, यो राम्रो भएन । हामी उहाँसँग नजिक कसरी हुन्छौँ ? हामीले त पार्टी एकतालाई पो कायम गर्न प्रयास गरेको हो । षड्यन्त्रमात्रै गर्ने हो भने त एक दिन अवश्य पनि आफूविरुद्ध पनि त अरुले गर्छन् नै । त्यसैले ठूलो ठाउँबाट हेर्दा सबैलाई न्याय हुनेगरी सोच्नुपर्छ । गुटबन्दी गर्ने हो भने त किन चाहिँयो यो पार्टी ?'
नेताहरुसँग नेकपा अध्यक्ष प्रचण्डले अहिलेसम्म प्रधानमन्त्री ओली र आफूले गरेको छलफल सुनाए । उनले भने, 'मैले सबैलाई फिर्ता गरेर आवश्यकलाई फेरि लैजानुपर्छ भनेको छु । तर प्रधानमन्त्री जीले मान्नु भएको छैन । उहाँले ६ जनासम्म थपौँ भन्ने कुरा गर्नु भएको छ । यसमै केन्द्रित भएको छ । यहाँभन्दा यो विषयमा प्रगति भएको छैन ।'