नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलाउने काम सफल भए मुलुकको अस्तित्व समाप्त हुने बताएका छन् ।
२९औं विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जातका आधारमा वा केहीका नाममा भावनामा बगाएर कसैले विद्धेष, घृणा र फाटो ल्याउन सफल भए देशको अस्तित्व समाप्त हुने बताएका हुन् ।
नेपालको आफ्नै विविधता भएको भन्दै उनले विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए । सबै जात समुदाय धर्म र संस्कृतिको सम्मान गर्दै प्रदेश नं. १ को नामाकरण भएको उनको भनाइ छ ।
समृद्ध नेपाल सुखी नेपाली सबै भुगोलमा बस्ने नेपालीहरुका लागि भएको बताउँदै अध्यक्ष ओलीले आदिवासी जनजाती समुदायको सूचिकृतका सम्बन्धमा देखिएका समाधान गर्नुपर्ने र सबैलाई पहिचानको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए ।