पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मिलेर समाजवादी केन्द्र नबन्ने जिकिर गरेका छन् । प्रचण्ड र माधव मिलेर पुँजीवादी चरित्रको पार्टी बने पनि समाजवादी पार्टी बन्न नसक्ने उनले जिकिर गरेका हुन् ।
यी दुवै नेता पदबिना बस्न नसक्ने नेता भएको आरोप लगाउँदै मैनालीले पार्टी बने पनि आलोपालो अध्यक्ष बन्न हानथाप हुने बताए । ‘प्रचण्ड र माधव मिलेर समाजवादी पार्टी बन्दैबन्दैन । पुँजीवादी चरित्रको पार्टी बन्ला । यी दुवैले नेतृत्व छाड्दैनन् । आलोपालो नेतृत्वमा जान्छन् । यी नै कारणले समाजवादीको स्वरूप सुदृढ पार्टीको बन्दैन’, रातोपाटीसँगको कुराकानीमा मैनालीले भने । अहिले सबै पार्टीका नेताहरूमा विचलन आएकोले जनआक्रोश बढ्दै गएको उनको बुझाइ छ ।
परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति जनताको अनास्था तीव्र भएकाले यी नै नेताहरूलाई पजनी गरेर पार्टी नबन्ने जिकिर गरे । ‘परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी, समाजवादी पार्टीप्रति जनआक्रोश छ ।
चरम निराशा छ । यसलाई दलीय आक्रोशभन्दा पनि नेताप्रतिको अनास्था हो । यी नै नेताहरूलाई पजनी गरेर जुनसुकै दल बनाए पनि हुँदैन’, मैनालीले भने, ‘नयाँ विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नभएपछि आम जनता र मतदाताको आकर्षण बढ्दैन । न प्रचण्ड–माधवको भविष्य छ न समाजवादी मोर्चाको छ ।’ एमालेमा झनै विचलन तीव्र गतिमा आएको मैनालीले टिप्पणी गरे । पछिल्लो समय एमालेभित्र निराशा थेगिनसक्नु भएको र कुन बेला विस्फोट हुन्छ थाहा नभएको टिप्पणी गरे । ‘एमालेभित्र नेता तथा कार्यकर्तामा निराशा थेगिनसक्नुको छ ।
कतिबेला विस्फोट हुने हो थाहा छैन । पार्टी सदस्य सङ्ख्या पनि घटेको छ । यसले सबै दलमाथि जनताको निराशा छ । यसको अर्थ नेताहरू गलत बाटोमा लागेका छन् । पुराना नेतृत्वले छाडेर नयाँ विचार, दृष्टिकोणसहित युवाहरूलाई नेतृत्व दिए केही होला । यी नै नेताहरूबाट ऊर्जा आउँदैन’, मैनालीले भने ।
सबै पार्टीका नेता तथा कार्यकर्ता अवसरको खोजीमा रहेको आरोप लगाउँदै उनीहरूको व्यवस्थापन नभएसम्म पार्टी गठन र विघटनको क्रम जारी रहने उनको भनाइ छ । ratopati.com