Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्री रेशमबहादुर जुग्जाली पोखराका ट्याक्सी अनिवार्य मिटरमा चलाउने तयारीमा लागेपछि........

मन्त्री रेशमबहादुर जुग्जाली पोखराका ट्याक्सी अनिवार्य मिटरमा चलाउने तयारीमा लागेपछि........

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०८० मंगलवार • १०:०८:०२ बजे
  • 1.5K
    SHARES
  • मन्त्री रेशमबहादुर जुग्जाली पोखराका ट्याक्सी अनिवार्य मिटरमा चलाउने तयारीमा लागेपछि........

    गण्डकीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले पोखराका ट्याक्सी अनिवार्य मिटरमा चलाउने तयारीमा लागेपछि व्यवसायी सशंकित बने ।

    images

    ट्याक्सी मिटरमा पनि चलाउने र अन्तर जिल्लाको रुट परमिट पनि वार्षिक रुपमा एकै पटक जारी गर्ने तयारी गरेपछि ट्याक्सी व्यवसायीहरु मन्त्री भेट्न पुगे ।

     

    उनीहरुले अहिलेकै भाडा दरले मिटरमा चलाउन नसकिने र वार्षिक रुट परमिट नदिन मन्त्रीलाई अनुरोध गरे । तर, मन्त्री जुग्जालीले प्रदेशको राजधानी र देशकै प्रमुख सहर पोखरामा ट्याक्सीले मनपरी भाडा असुल्ने गुनासो आएको भन्दै मिटरमा चल्नैपर्ने अडान राखे र साउन अन्तिममा व्यवसायीहरुसँग भेला नै डाके ।

    भेलामा ट्याक्सी व्यवसायी भदौ १ बाट मिटर चलाउन सहमत भए । यसअघि पनि पटक पटक सहमति गरेर पनि ट्याक्सी व्यवसायीले आफूखुशी भाडा लिँदै आएका थिए । उनले ट्याक्सीलाई मिटरमा चलाउने निर्णयबाट पछि नहट्ने अठोट लिएका छन् ।


    ‘म आफैं भ्याली (पोखरा उपत्यका) भन्दा बाहिरको मान्छे हुँ । यहाँ खेलोमेलो गर्नेसँग मेरो कुनै कनेक्सन पनि छैन । मेरो नाता पनि पर्दैन । व्यापारी, व्यवसायीसँग कुनै सम्बन्ध पनि छैन । मेरो राजनीतिक सम्बन्ध पनि छैन । मेरो साथी पनि होइनन्, त्यसैले ट्याक्सीलाई मिटरअनुसार चल्ने बनाउन केही पनि चुनौती छैन’, जुग्जालीले भने ।

    उनले अगाडि भने, ‘बरु मन्त्रालय छोड्न परे पनि छोड्छु, ५ वर्ष त म सांसद भइहाल्छु तर म यहाँ बस्दासम्म योजना डुब्लिकेसन हुन पनि दिन्नँ, बेच्न पनि दिन्न । यातायात क्षेत्रमा खेलोमेलो हुन पनि दिन्नँ ।’

    २०७४ सालमा पुसमा पोखराका ट्याक्सी मिटरमा नचलेको भन्दै प्रशासनले धरपकड गरेपछि पृथ्वीचोकमा सयौं ट्याक्सी तेस्र्याएर व्यवसायीले चक्काजाम गरे । प्रहरीले बल प्रयोग गरेर ट्याक्सी नै उठाउँदै लान थाल्यो र मिटरमा बाहेक चल्न नदिने अडान लियो ।

    नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था कार्यालयले केन्द्रमा सिफारिस गर्ने बताएपछि भाडा समायोजन नगरी चल्न नसक्ने अडान लिएका व्यवसायी ट्याक्सी मिटरमा चलाउन सहमत भयो । तर, सहमति केही दिनमै तोडियो र पोखरामा ट्याक्सीले मनपरी भाडा असुल्ने नियति फेरि दोहोरिएको थियो ।

    २०७८ सालमा पोखराका ट्याक्सीलाई अनिवार्य मिटरमा चल्ने बनाउन भन्दै भाडा समायोजन गरेर सरकारले निर्णय नै गर्‍यो । मिटरमा गुड्ने पोखराका ट्याक्सीमा ट्याक्सीमा जीपीएस जडान गर्ने, छतमा पहेँलो पोत्ने, चालकले आकासे रङको सर्ट, कालो पाइन्ट र जुत्ता लगाउनुपर्ने निर्णय नै भयो ।

    सोही निर्णयअनुसार आकासे रङको सर्ट, कालो पाइन्ट लगाएका चालकले पोखरामा केही समय मिटरमा पनि चलाए तर केही महिनामै फेरि कार्यान्वयन र अनुगमन दुवै हुन सकेन । अहिले पनि पोखरामा अधिकांश ट्याक्सी चालक ड्रेसमै भेटिन्छन् ।

    १ भदौदेखि फेरि ट्याक्सीले मिटर अनुसार मात्र भाडा लिनुपर्ने नियम लागू भएको छ । मिटरमा नचल्ने ९ ट्याक्सी कारबाहीमा परिसकेका छन् । नियमित अनुगमन र ट्याक्सीका समस्या व्यवस्थापनका लागि एउटा संयन्त्र नै निर्माण गर्ने तयारीमा मन्त्री जुग्जाली छन् ।

    ‘यातायात क्षेत्र सुधारका लागि अवरोध के थियो, मैले थाहा पाइसकेको छु’, उनले भने, ‘हिजो चलखेल र दबाब भएकै कारण रोकिएको यो काम सफल बनाउने नै हो ।’

    मिटरमा नचलाउने ट्याक्सीलाई ट्राफिक ऐनअनुसार नभई सवारी ऐनअनुसार कारबाही गर्ने जुग्जालीको भनाइ छ । ‘ट्राफिक ऐनअनुसार न्यूनतम ५ सय तिरे पुग्छ तर सवारी ऐनअनुसार सुरुमै ५ हजारबाट जरिवाना गर्छौं’, जुग्जालीले भने ।

    हाल कायम भाडादर अनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७.५० रुपैयाँ कायम गरिएको छ ।

    संघीय सरकारको कानुनी व्यवस्थाले नै ट्याक्सीमा सिन्डिकेट कायम राखेको छ । २० वर्ष पुराना ट्याक्सीको लगत कट्टा गरे पनि व्यवसायीले त्यही नम्बर प्लेटमा अर्को गाडी चलाउन पाउँछन् भने नयाँ दर्ता गर्न पाउने व्यवस्थासमेत छैन ।

    सट्टा दर्ता भनेर एक पटक ट्याक्सी किनेपछि जिन्दगी भरलाई हुने गरी पुरानै व्यवसायीले कब्जा गर्दा नयाँ ट्याक्सी किन्नेले १० लाख रुपैयाँसम्ममा नम्बर प्लेट किन्न बाध्य छन् ।

    मन्त्री जुग्जालीले यो व्यवस्था हटाउनका लागि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग छलफल भइरहेको र अन्तर जिल्ला रुट परमिटमा नाममा ट्याक्सीमा हुने अवैध कारोबार पनि बन्द गराउने तयारी गरेको बताएका छन् ।

    अहिले २ जिल्लाभन्दा बढी ट्याक्सीमा जानुपर्दा प्रत्येक पटक रुट परमिट लिनुपर्छ । म्याग्दीबाट पर्वत हुँदै पोखरा आउनुप¥यो भने हरेक जिल्ला पार गरेपछि रुट परमिट लिनुपर्ने व्यवस्थाका कारण पनि चलखेल हुने गरेको छ ।

    मन्त्री जुग्जालीले अब पटके नभई वार्षिक रुपमै नवीकरणको बेला रुट परमिट जारी गर्ने तयारी गरेपछि पोखराका ट्याक्सी कम्पनीले विरोध गरिरहेका छन् । यो व्यवस्था लागु भए पोखराका व्यवसायीले मार सहनुपर्ने भन्दै पोखरेली ट्याक्सी व्यवसायी कम्पनीले समेत आपत्ति जनाइरहेको छ ।

    जुग्जाली भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेको १०० दिन पूरा भएको छ । यो बीचमा यातायात व्यवस्था कार्यालयमा भिड व्यवस्थापन गर्ने, बिहान ८ बजेबाटै सेवा सुरु गर्ने काम भइसकेको छ भने बिचौलिया अन्त्य गर्नका लागि कार्यालयमै डेस्क स्थापनाको तयारीसमेत गरेको उनले बताएका छन् ।

    ‘दुई तरिकाले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश हुने रहेछ’, उनले अनुभव सुनाए, ‘एउटा केही पनि नजानेका, सामान्य फर्म भर्न पनि नजान्ने र अर्को धेरै पैसा भएका तर प्रक्रिया पूरा गर्न झञ्झट मान्ने ।’ अब कार्यालयमा हेल्प डेस्क स्थापना गरेर फर्म भर्नै नजान्ने नागरिकलाई कमचारीले नै सघाउने जुग्जालीले बताए ।

    मंगलबारदेखि बागलुङमा पनि ४ पांग्रे सवारी साधनको ट्रायल सुरु हुने भएको छ । अहिले तनहुँको डुम्रे, नवलपुरको कावसोतीका कार्यालयले पनि सेवा दिइरहेको छ ।

    पूर्वाधारतर्फ पनि सुधार प्रयास

    गण्डकीमा ४७ वटा आयोजनाको काम रोकिएको थियो भने त्यसका ठेकेदार सरकारको सम्पर्कमै थिएनन् । काम नगर्ने हो भने कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै आफूले एक्सन लिएपछि अहिले ३० वटा आयोजनाको काम सुरु भइसकेको मन्त्री जुग्जालीले बताए । अझै १७ आयोजना अलपत्र छन् ।

    जुग्जाली मन्त्री भएपछि पहिलो निर्णय नै प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने गरेका थिए । अहिले प्राविधिक सहयोग समितिले प्रतिवेदन तयार गरिरहेको छ । २१ करोडको आपतकालीन सडक मर्मत सम्भार कोष खडा गरेर अवरुद्ध सडकहरुको खुलाउने काम जुग्जाली नेतृत्वले गरेको छ ।

    मन्त्री जुग्जालीले पृथ्वी राजमार्ग, मध्यपहाडी राजमार्ग र सिद्धार्थ राजमार्गको निर्माण र विना अवरोध सञ्चालनका लागि पनि समन्वय गर्ने काम गरिरहेका छन् । गण्डकी प्रदेशकै सबैभन्दा धेरै बजेट भएको मन्त्रालयका मन्त्री हुन्, जुग्जाली ।

    भौतिक पूर्वाधारतर्फ खुद्रे, टुक्रे योजना हाल्ने गरिएको गुनासो आउने गरेकोमा यसपटक ३० लाखभन्दा कमका योजना नराखिएको उनले बताए । अघिल्लो आर्थिक वर्षमा यो मन्त्रालय अन्तर्गत १८ सय योजना थिए भने अहिले ११ सयमा झारिएको छ । चालु आर्थिक वर्षमा १२ अर्बभन्दा बढी बजेट पाएको मन्त्रालयले थप तीन सय किलोमिटर सडक कालोपत्रे, २५ वटा पक्की पुल र २० वटा झोलुुंगे पुल निर्माण गर्ने लक्ष्य राखेको छ । Source: onlinekhabar.com 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology