Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०८० मंगलवार • १०:०२:३९ बजे
  • 1.2K
    SHARES
  • एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

    संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए । उनी जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए ।

    images

    नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत भएका थिए।

    विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

    नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए । विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # हृदयघातबाट निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology