अहिले नेपालमा सबैभन्दा महँगो ठाउँ हो अपर मुस्ताङ । नेपाल सरकारले यसलाई निषेधित क्षेत्रको रूपमा राखेको छ । जहाँ विदेशीलाई छिर्नै महँगो शुल्क तिर्नुपर्छ । यस्तो क्षेत्र मुस्ताङमा मात्रै होइन, मनाङ र गोरखामा पनि छन् ।
अपर मुस्ताङका लोमान्थाङ गाउँपालिका, बारागुङ मुक्ति क्षेत्र गाउँपालिका र ल्हो घेकर दामोदर कुण्ड गाउँपालिकाका सबै ठाउँलाई निषेधित क्षेत्र भनेर तोकिएको छ ।
जहाँ प्रवेश गर्दा विदेशी पर्यटकले १० दिनका लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ । त्यसपछि पनि घुम्ने मन भएप्रति दिन ५० अमेरिकी डलर तिर्नुपर्छ ।
निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरु सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको भन्दै लोमन्थाङ गाउँपालिकाले आफ्नो क्षेत्रलाई निषेधित सूचीबाट हटाइदिन आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष टसी न्हुर्वु गुरुङले निषेधित क्षेत्रबाट हटाउने निवेदन बुझाए ।
गाउँपालिकाले यसअघि असोज २२ गते बसेको कार्यपालिका बैठकबाट पनि निषेधित क्षेत्रबाट हटाउन माग गर्ने निर्णय गरेको थियो । ‘उपल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको पर्यटन व्यवसायीको गुनासो छ ।
यहाँ छिर्न पर्यटन शुल्क समेत अत्यधिक बढी भएको हुनाले उक्त निषेधित क्षेत्रलाई सम्भव भएसम्म नियमानुसार हटाइदिनु हुन आग्रह गर्दछौँ,’ निवेदनमा भनिएको छ, ‘यसबाट सर्वसाधारणदेखि पर्यटन व्यवसायी समेत खुसी हुन्छन् ।
पालिकाले पर्यटन व्यवसायीहरुको निर्णय र पालिकाको निर्णय समेत संलग्न गरेर पठाएको गुरुङले बताए । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्छ ।